२२ कात्तिक, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाको फेसबुक दुरुपयोग भएकाे छ । लामो समयदेखि देउवाको सुरक्षामा खटिएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) मनबहादुर धितालले प्रधानमन्त्रीको फेसबुक दुरुपयोग गरेका हुन् ।
‘शेरबहादुर देउवा’ नामको भेरिफाइड फेसबुक एकाउण्टबाट धितालले आफ्नो तस्बिर पोष्ट गरेपछि प्रधानमन्त्रीको फेसबुकसमेत प्रहरीले चलाउने गरेको खुलेको छ ।
सामान्यतया प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेज निजी सचिवालयमार्फत सञ्चालन गर्ने गरिन्छ । प्रधानमन्त्री देउवाले आफ्नो निजी सचिवालय गठन नै नगरिसकेकाे अवस्थामा सुरक्षामा खटिएका प्रहरीलाई नै नियमित काम लगाउने गरेको खुलेकाे हाे ।
धितालले प्रधानमन्त्री देउवाको फेसबुकबाट ‘इन्फ्रन्ट अफ शेख प्यालेस दुबई’ लेखेर आफ्नो फोटो पोष्ट गरेका छन् । उनले सो पोष्ट केहीबेरमा हटाएका थिए । पोष्ट हटेपनि मुलुकको कार्यकारी प्रधानमन्त्रीको आधिकारीक फेसबुक पेज एक प्रहरी अधिकृतले सञ्चालन गर्नु असामान्य विषय बनेको छ ।
जुनसुकै प्रयोजनका लागि भए पनि प्रधानमन्त्रीको फेसबुक प्रहरीले चलाउन नमिल्ने उच्च सरकारी अधिकारी बताउँछन् । बालुवाटार स्रोतका अनुसार सई धिताल एक दशकदेखि देउवाको सुरक्षा टोलीमा छन् । देउवा प्रधानमन्त्री हुनुपूर्व पनि उनी देउवाकै टिममा थिए । विभिन्न जिल्लाका कार्यक्रममा जाँदा प्रधानमन्त्रीको गतिविधि अपडेट गर्न सजिलो होस् भनेर धिताललाई देउवाको फेसबुक पेजको पहुँच दिइएको थियो ।