प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने कानुन व्यवसायीकाे चेतावनी

प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने कानुन व्यवसायीकाे चेतावनी

 २२ कात्तिक, काठमाडाैँ ।

कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतको प्राङगनमा सोमबार पनि आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरुले प्रधानन्यायाशीश जबराले अव पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताए।

नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायधीश जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने बताए । उनले प्रधानन्यायाधिश जबरालाई अव पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनका सामना गर्न तयार रहन चेतावनी दिए। उपाध्यक्ष भट्टराईले भने, ‘हाम्रो अहिलेको माग भनेको प्रधानन्यायाधीशको राजीनामा हो । कुनै पनि हालतमा नेपाल बार एशोसिएशन यो मागबाट बाहिरिने वाला छैन । नेपाल बार ब्याक हुनेवाला छैन । र देशभरका कानुन व्यवसायीहरु आन्दोलित हुनुपर्ने अवस्था आयो भने त्यो परिस्थितिको सामना गर्न प्रधानन्यायाधीश तयार हुनुपर्नेछ ।’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायालय समाप्त हुन लागेकाले प्रधानन्यायाधीश जबराको राजीनामा माग्न बाध्य हुनुपरेको स्पष्ट पारे। उनले न्यायपालिकालाई संकटबाट बचाउन प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको बताउनु भयो । वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, ‘आज न्यायपालिका प्रधानन्यायाधीशका कारण संकेटमा परेको छ । न्यायपालिकामा हिजो समस्या थियो । तर आज न्यायपालिकामा संकट आएको छ । विवाद पहिलो पनि थियो । तर उहाँले संकट निम्त्याउनु भयो । न्यायपालिका समाप्त हुने विन्दुमा पुगेको छ । आज प्रधानन्यायाधीशजीले के भन्नु हुन्छ भने–मलाई संवैधानिक प्रक्रियाबाट हटाऊ । तर म प्रधानन्यायाधीशजीलाई प्रश्न गर्न चाहन्छु–उहाँले संविधानले तोकेको आफ्नो न्यूनतम केही भूमिकाम निर्वाह गर्नु भएको छ ? के आज उहाँले आफ्नो न्यायपालिकालाई नेतृत्व प्रदान गर्न सक्नु भएको छ ? आज उहाँको नेतृत्व सम्पूर्ण रुपमा असफल भएको छ । आज उहाँकै कारणले इजलास बस्न सकेको छैन । न्यायिक प्रक्रिया नै अवरुद्ध भएको छ । त्यसको सबैभन्दा ठूलो कारण उहाँ आफै हुनुहुन्छ । प्रधानन्यायाधीशका कारणले गर्दाखेरी यो न्यायपालिकामा सबैभन्दा ठूलो खतरा प्रधानन्यायाधीशको आचरणको कारण भएको छ । यो नेपालको न्यायिक ईतिहासमै दूर्भाग्यपूर्ण कुरा हो ।’

नेपाल बार एशोसिएशनका पूर्व केन्द्रिय सदस्य रमनकुमार कर्णले न्यायालयलाई बचाउनका लागि पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिन ढिलाई गर्न नहुने बताए । उनले प्रधानन्यायाधीश जबरा रहुन्जेल न्यायालय चल्नै नसक्ने दावी समेत गरे । कर्णले भने, ‘हामी प्रधानन्यायाधीशको राजीनामा माग गरेर निरन्तर आन्दोलनमा छौं । प्रधानन्यायाधीशको राजीनामा वकीलले माग गर्नु निश्चयनै दुःखद् कुरा हो । तर बारले माग गरिसकेपछि प्रधानन्यायाधीशले राजीनामा नदिनु त्यो भन्दा पनि दुःखद कुरा हो । प्रधानन्यायाधीशले यो बुझ्नु पर्छ कि बार किन तपाईको राजीनामा माग गर्न बाध्य भयो, विवश भयो ? बार र बेन्ज दुवैले तपाईको राजीनामा माग गरिरहेका छन । यस्तो अवस्थामा तपाईसँग राजीनामाको विकल्प छैन । राजीनामा दिनुस् । मार्ग प्रशस्त गर्नुस् । तपाईका लागि सबैभन्दा यही राम्रो हुन्छ । यो तपाईको भलोको लागि होईन । आम नेपाली नागरिकको न्यायको लागि माग गरिएको हो । यो न्यायिक संस्थाका लागि तपाईको राजीनामा माग गरिएको हो । तपाई रहुन्जेल अव यो संस्था चल्न सक्दैन । किनभने हिजो केही व्यक्तिहरु विवादित थिए । आज यो संस्थामाथि प्रश्न उठिसकेको छ । यो संस्थाको बचाऊको लागि तपाईले राजीनामा दिनु प¥यो ।’

नेपाल बार एशोसिएशनले मंगलबार (भोली) बिहान साँढे १० बजेपनि सर्वोच्च अदालतको प्राङगनमा धर्ना दिने जनाउँदै त्यसमा सहभागी हुन कानुन व्यवसायीहरुलाई आह्वान गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.