२२ कात्तिक। काठमाडौं।
भारतमा उपचार गरेपछि स्वास्थ्यलाभ गरिरहेका नेकपा एकीकृत समाजवादी पार्टीका ‘सम्मानित नेता’ झलनाथ खनाल पार्टी काममा फर्किएका छन्।
नेता खनाल सोमबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म काठमाडौंको मीनभवनस्थित पार्टी मुख्यालयमा उपस्थि भए। एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार सोमबार उनी आफू प्रमुख रहेको विदेश विभागको पहिलो बैठकमा समेत सहभागी भएका थिए ।
नेता खनालले विदेश विभागका सदस्यहरुसँग विभागका आगामी कामबारे छलफल गरे। खनालले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायत प्राविधिक विषयमा जानकारी लिएका पनि खतिवडाले जानकारी दिए।
गत साउन २० गते भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकहरुको सल्लाहमा उनी घरमै आराम गरेर बस्नुभएको थियो।
दिल्लीमा मिर्गौला प्रत्यारोपणपछि उनी गत भदौ १४ गते स्वदेश फर्किएका थिए। चिकित्सकहरुले ३ महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण त्यस अवधिमा उनी कुनै पनि कार्यक्रममा सहभागी भएनन्।