सभामुख र अर्थमन्त्रीले गरे तातोपानी नाकाको निरीक्षण

सभामुख र अर्थमन्त्रीले गरे तातोपानी नाकाको निरीक्षण

२३ कात्तिक, सिन्धुपाल्चोक ।

सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माले तातोपानी नाकाको निरीक्षण गरेका छन् । उनीहरूले बाह्रबिसेदेखि नेपाल चीन सीमासम्मको २६ किलोमिटर सडकमा गर्नुपर्ने मर्मत तथा नयाँ निर्माणका लागि समेत निरीक्षण गरे ।

भूकम्पपछि अस्थिर रहेको तातोपानी नाका प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि स्थानीय व्यवसायी, तातोपानी भन्सार कार्यालयका प्रमुख लगायतसँग छलफल समेत भएको सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

निरीक्षणपछि सभामुख र मन्त्रीसहितको टोलीले मितेरी पुल, व्यापारिक बजार लिपिङको अवस्थालाई गम्भीर रुपमा लिएको बताए । साथै नाका सुचारु गर्न थप पहल गरिने उनीहरूले बताए ।

त्यस क्षेत्रमा २०७१ सालमा आएको जुरे पहिरो, २०७२ सालको भूकम्प, २०७३ को भोटेकोसी बाढी, २०७४ मा लार्चा पुल पहिरोमा परी बगेको, २०७५ मा साँधी खोलाले पक्की पुल बगाएको, २०७७ सालमा बाह्रबिसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोसी गाउँपालिकाको लार्चामा आएको बाढी, पहिरोका कारण राजमार्गमा ठूलो क्षति पुगेको थियो ।

कोभिड–१९ महामारीका कारण सीमा क्षेत्रमा गरिएको कडाइका कारण तातोपानी नाकाबाट हुने आयात निर्यात समेत पुरानो अवस्थामा फर्कन सकेको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.