२३ कात्तिक, काठमाडौँ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलाससहित आज दुई वटा इजलासमा मात्र मुद्दाको सुनुवाइ भएको छ । सर्वोच्चका न्यायाधीशहरुले इजलासमा नबसेपछि आजका लागि तोकिएका दश मध्ये २ वटा इजलासमा मात्र मुद्दाको सुनुवाइ भएको हो ।
आज प्रधानन्यायाधीश जबराको एकल इजलासमा ७ वटा र न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासमा एउटा बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ भएको हो ।
सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश इजलासबाट अलग भए बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र सुनुवाइ गर्ने अडान राखेपछि जबराले सोही बमोजिम मुद्दाको पेशी तोक्दै आएका थिए ।
यसअघिको प्रधानन्यायाधीश आफू इजलासबाट अलग भएर बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्र पेशी तोके पनि आज सबै प्रकृतिको मुद्दाको पेशी तोकिएपछि न्यायाधीशहरू इजलासमा नबसेका हुन् ।
प्रधानन्यायाधीश जबराले आफूसहितका १० वटा इजलासमा आजका लागि २ सय ९८ मुद्दाको पेशी तोकेका थिए। प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एसोसिएसन आन्दोलनमा छन् ।
यसैबीच नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको राजीनामा माग गर्दै आज पनि विरोधका कार्यक्रम जारी राखेको छ ।