३ कात्तिक, काठमाडौं ।
सत्तारुढ नेकपा माओवादी केन्द्रले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता संसदबाट पास नगर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको स्थायी समिति बैठकमा नेताहरुले अर्थ मन्त्रालय तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लेखेको पत्रमाथि प्रश्न उठाएका थिए ।
हालै मात्र प्रधानमन्त्री देउवाले एमसीसी पास गर्छौ भनेर आफू र प्रचण्डले पत्र पठाएको बताएपछि यो विषय सार्वजनिक भएको थियो । यसलाई लिएर माओवादी केन्द्रका नेताहरुले मंगलबारको बैठकमा प्रश्न उठाएका हुन् । नारायणकाजी श्रेष्ठ प्रकाश, देव गुरुङ, लीलामणि पोखरेल लगायतले पत्र पठाउनु गम्भीर त्रुटि भएको बताएका थिए ।
लगत्तै अध्यक्ष प्रचण्डले स्पष्टीकरण दिएका छन् । बाहिर चर्चा भए जस्तो एमसीसी पास गर्छौं भनेर पत्र नलेखेको उनको दाबी छ । ‘अध्यक्षले यथास्थितिमा पास गर्ने केही लेखिएको छैन भन्नुभएको छ,’ एक स्थायी समिति सदस्यले भने ।
सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक प्रयास भइरहेकाले पनि सम्झौतामा संशोधन भए सहयोग लिन्छौं भनेर पत्र लेख्नु परेको प्रचण्डले बताएका छन् ।
बैठकमा एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमती कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडी नबढाउने कुरा भएको पनि प्रवक्ता कृष्णबहादुर महराले बताए।
उनले भने – ‘एमसीसीको विषयमा बाहिर जुन कन्फ्युजन भएको छ, हाम्रो पार्टी केही कुरा राष्ट्रिय सहमती कायम नभइकन, केही संशोधन, परिमार्जन नभइकन अगाडी नबढाउने भन्ने कुरा भाछ । एमसीसीको कतिपय कुराहरु आपत्तिजनक छन् । केही कुरा परिमार्जन नभइकन र राष्ट्रिय सहमती, सबै दलको सहमत नभइकन अगाडी बढ्दैन ।’