२४ कात्तिक, विराटनगर ।
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको छ।
आस्था एवं निष्ठापूर्वक चार दिनसम्म मनाइने लोकपर्वको तेस्रो दिन आज विराटनगरसहित देशभर विभिन्न पोखरी, नदी, इनार लगायतका जलाशय भएका ठाउँमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको हो।
आज विराटनगरको सिंघिया खोला, केशलिया खोला,चिसाङ लोहन्द्रा खोला, मोरङ–सुनसरी सिँचाई आयोजना,विभिन्न खोला, पोखरी तथा नहरहरुमा पुगेर व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ चढाएपछि घर फर्किएका छन् । अधिकांश व्रतालुहरू रातभर जागराम बसी भजन कीर्तन गर्ने गर्दछन् ।

छठ पर्व रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने गरिन्छ । पछिल्लो समयमा तराई र मधेसी समुदायले मात्र मनाउँदै आएको यो पर्व पहाडी समुदाय लगायत मुस्लिम समुदाय एकै ठाउँमा बसेर भक्तिपूर्वक मनाउन थालेकाले छठ एकताको पर्वको रुपमा अघि बढ्दै गएको छ ।
चार दिनसम्म मनाइने छठको आज मुख्य दिन हो । आज ब्रतालुहरुले अस्ताउँदो सुर्यलाई अर्घ दिएर भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ समापन हुन्छ ।

छठ पर्वमा बाँसको ढक्की, नाङ्लो माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै, प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ । अर्घ दिने व्रतालु ३ दिनसम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् ।

