२५ कात्तिक, एजेन्सी ।
आफ्नै पोजिसनमा खेल्ने खेलाडीलाई कुटपिट गरि घाइते बनाएको आरोपमा फ्रान्सेली पुलिसले पेरिस सेन्ट जर्मेन मिडफिल्डर अमिनाटा डियालोलाई पक्राउ गरेको छ ।
गत साता विहीबार डियालोसँग कारमा यात्रा गर्ने क्रममा नकाबधारी समूहले पिएसजीकै मिडफिल्डर तथा फ्रान्सेली राष्ट्रिय टोलीकी खेइरा हमारावीलाई आक्रमण गरेको थियो । आक्रमणकारीले सवारी चलाइरहेकी डियालोलाई नियन्त्रणमा मात्र लिँदा हमारावीमाथिलाई भने घाइते बनाएका थिए । उनको खुट्टामा फलामको डन्डीले कुटपिट गरिएको थियो ।
बुधबार पिएसजीले पनि विज्ञप्ति जारी गर्दै प्रहरीले अनुसन्धानका लागि डियालोलाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ । तर घटनाबारे भने केहि विवरण दिएको छैन । फ्रान्सेली पत्रिका ले’इकिपले उक्त घटनासँग सम्बन्धित व्यक्तिलाई उदृत गर्दै घटनाबारे विवरण भने प्राप्त गरेको छ ।
डियालोले क्लब र राष्ट्रिय टोलीमा नै आफ्नो स्थानमा खेल्ने खेलाडीलाई षड्यन्त्र रच्दै आक्रमण गर्न लगाएर घाइते बनाएको आरोप रहेको छ । टोलीको रात्रिभोजपछि डियालो आफैंले हमारावीलाई सँगै जान भनेको र आक्रमणकारीले डियालोलाई समाएर हमारावीमाथि मात्र आक्रमण गरेका थिए ।
मंगलबार सम्पन्न च्याम्पियन्स लिग खेलमा डियालोले हमारावीकै स्थानमा खेलेकी थिइन् । हमारावी यसै सिजन बार्सिलोनाबाट पिएसजीमा आएकी थिइन् । गत विहीबारको आक्रमणले उनको खुट्टामा चोट लागेको छ । तर चोट गम्भीर भने छैन । डियालोले भने यसै सिजन एटलेटिको म्याड्रिडबाट लोनमा फर्केपछि खेल्ने अवसर पाएकी थिइनन् । हमारावीलाई घाइते बनाएपछि आफूले खेल्न पाउने भन्दै आक्रमण गरिएको आँकलन गरिएको छ ।