६ अर्ब ६० करोडभन्दा बढी पुनर्कर्जा स्वीकृत

६ अर्ब ६० करोडभन्दा बढी पुनर्कर्जा स्वीकृत

२५ कार्तिक, काठमाडौं ।

चालू आर्थिक वर्ष २०७८÷७९ को असोज मसान्तसम्म छ अर्ब ६० करोड रुपियाँभन्दा बढी पुनर्कर्जा स्वीकृत भएको छ । कुल २१ वटा बैङ्क तथा वित्तीय संस्थाबाट ५५ जना ऋणीको पुनर्कर्जा स्वीकृत भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

कोभिड–१९ बाट प्रभावित उद्योगी–व्यवसायीका लागि व्यवस्था गरिएको पुनर्कर्जाअन्तर्गत विशेष पुनर्कर्जा शीर्षकमा ११ जना ऋणीले एक अर्ब ८६ करोड २३ लाख लिएका छन् । त्यस्तै साधारण पुनर्कर्जा शीर्षकमा ४४ जना ऋणीले चार अर्ब ९३ करोड ९० लाख रुपियाँ लिएका छन् ।

प्रवाह भएको कर्जामध्ये करिब ५१ प्रतिशत कर्जा पर्यटन क्षेत्रमा प्रवाह भएको छ । पर्यटन क्षेत्रमा तीन अर्ब ४६ करोड ३८ लाख रुपियाँ कर्जा प्रवाह भएको राष्ट्र बैङ्कले जनाएको छ । त्यस्तै जलविद्युत् क्षेत्रमा एक अर्ब ६० करोड ७६ लाख रुपियाँ, उत्पादनमूलक क्षेत्रमा ८० करोड ८० लाख, अस्पताल क्षेत्रमा ४८ करोड ७० लाख रुपियाँ कर्जा प्रवाह भएको छ । शिक्षा क्षेत्रमा साढे २४ करोड, यातायात क्षेत्रमा १३ करोड ५२ लाख र कपडा उद्योगमा पाँच करोड ४७ लाख रुपियाँ प्रवाह भएको छ ।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी पुनर्कर्जा बागमती प्रदेशमा प्रवाह भएको छ । यस प्रदेशमा तीन अर्ब ४५ करोड ३६ लाख रुपियाँ कर्जा प्रवाह भएको छ । त्यस्तै गण्डकी प्रदेशमा एक अर्ब ८९ करोड ३६ लाख, लुम्बिनी प्रदेशमा ८८ लाख ५५ हजार, प्रदेश १ मा ३६ करोड ४२ लाख र प्रदेश २ मा २० करोड ४४ लाख रुपियाँ कर्जा प्रवाह भएको छ ।

त्यस्तै एक हजार ८९० कम्पनीले एक करोड रुपियाँभन्दा बढी सहुलियतपूर्ण कर्जा उपयोग गरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । यस्तो कर्जा सातवटै प्रदेशमा प्रवाह भएको देखिएको छ । बिनाधितो र धितोसहितको व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च तथा प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितको निजी आवास पुनर्निर्माण कर्जा, कपडा उद्योग सञ्चालन कर्जा, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिम र युवा स्वरोजगार कर्जा शीर्षकका सहुलियतपूर्ण कर्जा उपलब्ध हुँदै आएको छ ।

यस्तो कर्जा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैङ्क वित्तीय संस्थाबाट उपलब्ध हुँदै आएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । यस्तो कर्जा प्रवाह हुँदा नौ अर्ब १५ करोड २१ लाख ५८ हजार रुपियाँ कुल ब्याज अनुदान दिइएको राष्ट्र बैङ्कले जनाएको छ ।

यी कर्जामध्ये युवा वर्ग स्वरोजगार कर्जा जम्मा १७ वटा मात्र प्रवाह भएको देखिन्छ भने शिक्षित युवा स्वरोजगार कर्जा १४८ मात्र प्रवाह भएको छ । विदेशबाट फर्केका युवा परियोजना कर्जा पनि ९२८ वटा प्रवाह
भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.