२५ कात्तिक, काठमाडौं ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै ६ विद्यार्थी संगठनले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । सत्तारुढ गठबन्धनमा समेत रहेका ती विद्यार्थी संगठनले बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाएर मूल्यवृद्धि फिर्ता लिन दबाब दिएका हुन् ।
माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, नेकपा (एस) निकट अनेरास्ववियका अध्यक्ष सुदेश पराजुली, जसपा निकट समाजवादी विद्यार्थी संघका अध्यक्ष रुपनारायण श्रेष्ठसहित ६ विद्यार्थी संगठनले ज्ञापन पत्र बुझाएका हुन् ।
तत्काल मूल्यवृद्धिको निर्णय फिर्ता नलिए शुक्रबार कात्तिक २६ गते बिहान ९-११ बजे आयल निगमका महाप्रबन्धकलगायत कर्मचारीलाई कार्यालय प्रवेश निषेध तथा घेराउ, कात्तिक २८ गते दिउँसो २ बजे प्रदर्शनीमार्गमा खाली सिलिन्डर प्रदर्शन गर्ने, कात्तिक ३० गते देशभर आयल निगमको कार्यालयमा कालो ब्यानर राखि विरोध गर्ने र मंसिर २ गते २ बजे माइतीघर मण्डलामा सडक बहस गर्ने ती संगठनहरुले जनाएका छन् ।
मूल्य समायोजनको बहानामा आयल निगमलगायतका सरकारी निकायहरूले चुहावट नियन्त्रण नगरी जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्षरूपमा गाँसिएका वस्तुमा मूल्यवृद्धि गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले खेद जनाएका छन् ।