सप्तरीमा कार्यरत डिएसपी तिम्सिनाको निधन

सप्तरीमा कार्यरत डिएसपी तिम्सिनाको निधन

२६ कात्तिक, सप्तरी ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रमुख ४६ वर्षीय डीएसपी लोकनाथ तिम्सिनाको मृत्यु भएको छ। काठमाडौं महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा डीएसपी तिम्सिनाको शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले बताए।

दशैं अघि बिरामी भएका तिम्सिनालाई बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भर्ना गरिएको थियो। धरानबाट नोबेल अस्पताल विराटनगरमा उपचारार्थ भर्ना भएका तिम्सिनाको अवस्थामा सुधार नआएपछि उनलाई केही दिन अघि हेलिकप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको थियो।

निमोनियाबाट पीडित तिम्सिनाको उपचारकै क्रममा काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको हो।नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय भक्तपुर दरबन्दी भएका उनी केही महिनायता इलाका प्रहरी कार्यालय कञ्चनपुरमा काजमा खटिएका थिए ।

वि.सं. २०३२ साल मङ्सिर ६ गते ओखलढुङ्गामा जन्मेका ओखलढुङ्गा सिस्नेरी– ५ का डीएसपी तिम्सिना परिवारसहित ९ वर्षअघि ललितपुरस्थित महालक्ष्मी नगरपालिका–४ मा बसोबास गर्दै आएका थिए।

वि.सं. २०५८ सालमा प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका तिम्सिना २०६१ मा इन्स्पेक्टरमा नयाँ भर्ना भएका थिए भने २०७२ सालमा बढुवा भई डिएसपी भएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.