२६ कात्तिक, काठमाडौँ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित भएको नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिएको छ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भन्दै शुक्रवार बिहान १० बजेदेखि १२ बजेसम्म सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिएको हो ।
बारको धर्नाको बाबजुद प्रधानन्यायाधीश जबरा भने करिब ११ बज्नै लाग्दा वैकल्पिक गेटको प्रयोग गरी सर्वोच्च अदालत प्रवेश गरेका थिए । अधिवक्ताहरु नेपाल बार एसोसिएसनको भवनमा जम्मा भई ब्यानरसहित सर्वोच्चको मुल गेट अगाडी पुगेर धर्ना दिएका थिए ।
प्रधानन्यायाधीशका समर्थक पक्राउ
धर्ना दिन जाने क्रममा केही मानिसहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको समर्थनमा नाराबाजी गर्दै नेपाल बार एशोसिएसनको आलोचना गरेपछि केही समय असहज परिस्थिति बनेको थियो । प्रधानन्यायाधीश जबराको पक्षमा नाराबाजी गर्ने तीन महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रधानन्यायाधीशलाई न्याय सम्पादन गर्ने अधिकार छैन
धर्ना दिनुअघि संक्षिप्त सम्बोधन गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई न्याय सम्पादन गर्ने र न्याय प्रशासन चलाउने अधिकार नभएको बताए । बारको शान्तिपूर्ण आन्दोलन गर्ने नीति रहेकोमा बिहीवार बारले कार्यक्रम गर्न खोज्दा पोडियम र माइक खोसिएको र कानुन व्यवसायीमाथि आक्रमण भएका कारण प्रधानन्यायाधीशलाई अदालत प्रवेश रोक लगाउनेसम्मको कार्यक्रम गर्नुपरेको बताए । धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष श्रेष्ठले आइतबार पनि धर्ना दिने बताए ।
प्रधानन्यायाधीशविरुद्ध राष्ट्रसंघमा पनि उजुरी गर्ने
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले प्रधान न्यायाधीशको सम्बन्धमा संयुक्त राष्ट्रसंघमा पनि उजुरी पठाउन तयार रहेको भन्दै आफुहरु संयुक्त राष्ट्रसंघको सम्पर्कमा रहेको बताए । बारको भद्र आन्दोलनलाई कमजोरीको रुपमा नलिन उनले चेतावनी पनि दिए ।
बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने भन्दै राजीनामा माग्दै आएको छ । शुक्रवार कालोपट्टीसहित विरोधको कार्यक्रम गरिएको थियो ।
राजीनामा दिने कि पदच्यूत पर्खिने ?
यसैबीच, वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिने कि पदच्यूत पर्खिने भनेर रोज्नुपर्ने बताएका छन् । नेपाल बार एशोसिएसनको आह्वानमा सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै दाहालले समय वित्दै गर्दा पदच्यूतको बाटोमा जानु पर्ने बताएका छन् ।
समय अझै घर्किनसकेको भन्दै उनले तत्काल राजीनामा दिन आग्रह गरे । बारको लक्ष्य प्रष्ट रहेको भन्दै उनले त्यो पूरा नहुँदासम्म सर्वोच्चको मूल गेटमा धर्ना जारी राख्न समेत सुझाव दिए । बार एशोसिएसनका पूर्वअध्यक्ष समेत रहेका दाहालले अब राजनीतिक दलहरु पनि चुप बस्न नसक्ने बताए । दलहरुले मौनता नतोडे आफूहरुको आन्दोलन सरकार र दलहरुको अकर्मन्यतातिर पनि केन्द्रित हुने दाहालको चेतावनी छ ।