२६ कात्तिक, काठमाडाैँ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीका प्रवेश गर्नेहरुको लहरनै चलेको दावी गर्नु भएको छ । शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको बैठकमा बोल्दै उनले उत्साहवद्र्धक ढंगले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको शिलाशिलानै चलेको बताएका हुन् ।
अध्यक्ष नेपालले डडेलधुरामा हालसालै एमालेको सिंगो जिल्ला कमिटीनै आफ्नो पार्टीमा प्रवेश गरेपछि देशभर त्यसको प्रभाव राम्रो परेको प्रतिक्रिया समेत दिए । उनले अन्य पार्टी पनि आफ्नो पार्टीमा एकतावद्ध भएर अघि बढने विषयमा छलफल भईरहेको बताए । अध्यक्ष नेपालले केपी ओली गुटले पार्टीविरुद्ध झुटा प्रचार गरिरहेको भन्दै त्यसका विरुद्धमा चोटिलो प्रहार गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले भने ‘नेकपा एमाले छोडेर हाम्रो पार्टीमा प्रवेश गर्ने शिलशिला चलेको छ । उत्साहवद्र्धक पनि छ । उदाहरणको निम्ति डडेलधुरा जिल्ला, त्यहाँ झण्डैझण्डै सबै जिल्ला कमिटीनै एमाले छोडेर हाम्रो पार्टीमा प्रवेश गरेको छ । बेग्लै किसिमको उत्साह पैदा गरेको छ । तरंग पैदा गरेको छ । तर यति हुँदाहुँदै पनि हाम्रो विपक्षमा केपी गुट पूरै लागि परेको छ । र उसले अनावश्यक आरोप लगाईरहेको छ । झूटा प्रचार गरिरहेको छ । यसको सशक्त प्रतिकार गर्ने कुरालाई अझै चोटिलो र धारिलो बनाउनु पर्नेछ ।’
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन चुनावसम्मै जाने बताए । उनले राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनमा सत्तारुढ दलहरुले मिलेर उम्मेदवारी दिने सहमति गरिएको पनि बताए । सत्तारुढ गठबन्धनलाई तोड्न नदिनका लागि आफूहरुले सत्तारुढ दलबीच समन्वय समिति बनाउनु परेको पनि उनले स्पष्ट पारे । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनबीच बनेको समन्वय समितिले सरकारको काममा कुनै हस्तक्षेप नगर्ने बताए । उनले भने, ‘यो हाम्रो गठबन्धन चुनावसम्म जानेछ । अहिलेको सन्दर्भमा हामी राष्ट्रियसभाको निर्वाचनमा मिलेर उम्मेदवार खडा गर्छौैैं । दोसो कतिपय प्रदेशसभा र प्रतिनिधिसभाको स्थानमा हुने उपनिर्वाचनमा पनि हामी मिलेर जानेछौं । यस काममा हाम्रो पार्टीले सम्पूर्ण तयारी गर्नु पर्दछ । कसैकसैले प्रचार गरेजस्तो सरकारको मामिलामा सत्तारुढ गठबन्धन दलले बनाएको समन्वय समितिले हस्तक्षेप गर्दैन ।’
अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले तीन वटै तहको निर्वाचनमा एकैपटक गर्ने आफूहरुले सोच बनाएपनि त्यसरी गर्न कानुन, नियमले मिल्नेनमिल्ने छलफल गरेर अघि बढने बताए ।