मूल्यवृद्धिको विरोधमा कात्तिक ३० गते ‘नेपाल बन्द’

मूल्यवृद्धिको विरोधमा कात्तिक ३० गते ‘नेपाल बन्द’

२७ कात्तिक, काठमाडाैँ ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले यही कात्तिक ३० गते ‘नेपाल बन्द’ आह्वान गरेको छ । पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदवाव दिने भन्दै नेकपाले कात्तिक ३० गते मंगलबार नेपाल बन्द आह्वान गरेको हो ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारलाई जनदवाव दिन ‘नेपाल बन्द’को आह्वान गर्नु परेको बताए । उनले सो ‘नेपाल बन्द’ शान्तिपूर्ण हुने र त्यसले सरकारले बढाएको महंगीविरुद्ध राष्ट्रिय ऐक्यवद्धता प्रर्दशन गर्ने तर्क समेत गरे। नेता बास्तोलाले ‘नेपाल बन्द’लाई शान्तिपूर्ण बनाउन जनतालाई अपिल गर्ने र त्यसमा सहयोग गर्न सञ्चारकर्मीहरुलाई पनि आग्रह गरे ।

उनले भने, ‘पेट्रोलियम पदार्थको गरिएको मूल्यवृद्धि सरकारले रोक्नु पर्छ । त्यसो गर्दाखेरी अहिले गरिएको पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउनु पर्छ र पेट्रोलियम पदार्थको मात्रै कुरा होईन् । देशको हरेक क्षेत्रमा मूल्यवृद्धि भएको छ । चिनीमा मूल्य वृद्धि भएको छ । तेलमा मूल्यवृद्धि भएको छ । नुनमा त्यत्तिकै मूल्य वृद्धि भएको छ । चामलमा त्यत्तिकै मूल्यवृद्धि भएको छ । हरेक क्षेत्रको मूल्यवृद्धिको पछाडि राज्यको प्रणाली छ । यो मूल्यवृद्धि तुरुन्त घटाउनु पर्छ भन्ने हाम्रो कुरा छ । त्यसको निम्ति हामीले राज्यलाई दवाव दिनका निम्ति एउटा राष्ट्रिय सोलिडारिटी र जनताको ऐक्यवद्धता र दवाव दिनका निम्ति हाम्रो पार्टीले कात्तिक ३० गते नेपाल बन्द भनेका छौं । नेपाल बन्द भनेको शान्तिपूर्ण तरिकाले राज्यलाई दवाव दिनका लागि एउटा सोलिडारिटी यो महंगीको विरुद्धमा राज्यको बैधानिक लुटपाट, कानुन बनाएर लुटपाट गर्ने, नियम बनाएर लुटपाट गर्ने राज्य आफैं जो बनेको छ । यसलाई खारेज गरिनुपर्छ । मूल्यवृद्धि रोकिनु पर्छ । त्यसको निम्ति जनदवाव दिन नेपाल बन्द आह्वान गरेको छौं ।’

नेता बास्तोलाले राज्यले जनतालाई महंगी बढाएर बैधानिक लुटपाट मच्चाएको आरोप लगाए। उनले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारणबारे झुट बोलिरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.