२७ कात्तिक, चितवन।
नेकपा (माले) को आठौं राष्ट्रिय महाधिवेशन चितवनको नारायणगढमा शुरु भएको छ । पार्टीका महासचिव सीपी मौनालीले शनिबार नारायणी कलामन्दिरमा महाधिवेशनको उद्घाटन गरेका छन् ।
सोमबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्वसहित केन्द्रीय समिति चयन गर्ने जनाइएको छ । बन्द सत्र पनि सोही ठाउँमा हुने जनाइएको छ । महाधिवेशनमा विभिन्न आठ दस्तावेज र प्रतिवेदनहरूमाथि छलफल र निर्णय हुने बताइएको छ । पार्टीको आउँदो नेतृत्व पनि मैनालीले नै गर्ने सम्भावना रहेको नेताहरुले जानकारी दिएका छन् ।
पार्टीले सीपी मैनालीको ‘नेपाली क्रान्तिको कार्यक्रमः नयाँ जनवाद’ लाई ५९ सालको चैत्रदेखि मूल रणनैतिक नीति मानेर आएको छ । सो नीतिका विषयमा हालसम्म फरक मत आएको छैन । त्यसैले पनि महासचिव मैनालीले नै पार्टीको नेतृत्व गर्ने निश्चितप्रायः भएको मालेका नेताहरू बताउँछन् ।
अब बन्ने नयाँ केन्द्रीय समितिले महासचिव नियुक्त गर्ने, स्थायी कमिटी र पोलिटब्यूरो निर्माण गर्ने तथा पार्टीका विभिन्न २० वटा विभागहरूको नेतृत्व टुङ्ग्याउने पार्टीका पोलिटब्यूरो सदस्य भगवति घिमिरेले जानकारी दिइन् । महाधिवेशनमा देशभरबाट ३५० जना प्रतिनिधिले भाग लिएका छन् ।
मालेले अब संसदीय व्यवस्थाको विकल्प खोज्न आवश्यकता देखेको महासचिव मैनालीले बताएका छन् । ‘असफल भइसकेको बेलायती मोडलको संसदीय व्यवस्थालाई विस्थापित गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था कायम गरौं भन्ने हाम्रो जोड छ’ महासचिव मैनालीले भने ।