२८ कार्तिक, काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै कानुन व्यवसायीहरू सर्वोच्च परिसरभित्र धर्ना दिइरहेका छन्।
कानुन व्यवसायीहरुले अदालती प्रक्रिया ठप्प पारेर धर्ना दिइरहँदा अदालतबाहिर भने न्यायालय बन्द गर्न पाइँदैन भन्दै नाराबाजी सुरु भएको छ।
मोटरसाइकलमा आएका केही युवाहरुको समूहले सर्वोच्चबाहिर अदालती कारबाही सुरु गर्नुपर्ने भन्दै नाराबाजी गरेका हुन्। पक्षविपक्षबीच दोहोरो झडप हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
यसरी प्रधानन्यायाधीश राणाको पक्षमा प्रदर्शन भएपछि नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिचौलिया र मण्डललेहरू बाइक लिएर आएको टिप्पणी गरेका छन्।
’हाम्रो एक मात्र माग भनेको प्रधानन्यायाधीश राणाको राजीनामा हो। न्याय किनबेच गर्ने प्रधानन्यायाधीश चाहिँदैन। आज उहाँको समर्थनमा बिचौलिया र मण्डलेहरू मोटरसाइकल लिएर आए’, श्रेष्ठले भने।
उनले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म बारको आन्दोलन जारी रहने बताए। आन्दोलन अझ सशक्त भएर अघि बढ्ने उनको चेतावनी छ।
’उहाँले तोकेको इजलासमा नपस्न न्यायाधीशलाई पनि हामीले भनेका छौं। बारको आन्दोलन जारी रहन्छ। रुप फेरिएला। अझ सशक्त भएर अघि बढ्छ। भोलि १० बजे न्याय किनेबेच गर्ने प्रधानन्यायाधीशलाई प्रवेश गर्न रोक लगाउने छौं’, उनले भने।