कोप २६ : जलवायु परिवर्तनको जोखिम न्यून गर्ने नयाँ सहमति

कोप २६ : जलवायु परिवर्तनको जोखिम न्यून गर्ने नयाँ सहमति

२८ कार्तिक, काठमाडौं ।

जलवायु परिवर्तनको जोखिम रोक्ने विषयमा विभिन्न देशका नेताहरूबीच नयाँ सहमति भएको छ ।

स्कटल्यान्डको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २६ मा नयाँ सहमति भएको हो ।

हरितगृह ग्यास उत्सर्जनको प्रमुख कारक मानिने कोइलाको प्रयोग गर्ने विषयमा सम्झौता भएको हो । कार्बन उत्सर्जनलाई अझै न्यून पार्ने र विकासन्मुख देशमा जलवायुको प्रभाव कम गर्न सहयोग गर्ने पनि सम्झौतामा उल्लेख छ ।

तर, यो सहमति पृथ्वीको तापक्रम १ दशमलब ५ डिग्री सेल्सियमा सीमित पार्न भने पर्याप्त नभएको विज्ञहरू बताउँछन् ।

यसअघि तयार पारिएको मस्यौदामा कोइलालाई चरणबद्ध रूपमा विस्थापित गर्ने उल्लेख थियो । तर, भारत र चीनसहित केही देशको विरोधका कारण त्यसलाई सम्झौताबाट हटाइएको थियो ।

भारतका जलवायु मन्त्री भूपेन्द्र यादवले विकासन्मुख देशहरूले ‘विकास र गरिबी निवारणका मुद्दा’ चलिरहेका बेला कोइला विस्थापित गर्न नसक्ने बताएका थिए ।

विभिन्न देशका प्रतिनिधिहरूले असन्तुष्ट जनाएपछि कोइलालाई विस्थापित गर्नेभन्दा पनि त्यसलाई चरणबद्ध न्यून गर्ने सहमति भएको थियो ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले विश्वले ग्लास्गोको कोप २६ लाई ‘जलवायु परिवर्तनको अन्त्यको सुरुवात’ को रुपमा हेर्ने आशा व्यक्त गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी अमेरिकी प्रतिनिधि जोन केरीले ग्लास्गो सम्मेलनबाटै जलवायुसम्बन्धी सम्पूर्ण संकट अन्त्य नहुने बताएका छन् ।

यसैबीच, राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले ‘पृथ्वी कमजोर धागोमा झुन्डिएको’ भन्दै ‘हामीले अझै पनि जलवायु बिपद्को ढोका खोलिरहेको’ टिप्पणी गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.