३० कात्तिक, काठमाडाैँ ।
धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अपनत्व ग्रहण गरिदिन सरकारलाई आग्रह गरेका छन्। उनले आर्थिक समस्याका कारण रंगशालाकाे निर्माण कार्य रोकिएको बताएका छन्।
कलाकार धुर्मुसले चितवनको मंगलपुरमा रंगशाला निर्माण गर्दै आएका थिए । मंगलबार फाउण्डेसनको आधिकारिक फेसबुक पेजमार्फत् सार्वजनिक गरिएको एक भिडिओमा धुर्मुसले सरकारी निकायले निर्माण कार्यमा सहयोग नगरेको गुनासो गरेका छन्।
उनले भनेका छन्, ‘राष्ट्रको रंगशाला निर्माणका लागि सहयोग गरिदिनुपर्यो भनेर हरेक स्थानीय निकाय, प्रदेश सरकारदेखि सिंहदरबारसम्म धाइयो तर सोचेजस्तो सहयोग पाइएन ।’
धेरै ऋण लागेपछि हामीले ४ महिनादेखि निर्माण कार्य रोकेकाे उनले बताएका छन्। उनले रंगशाला निर्माणका क्रममा १७ करोड रुपैयाँभन्दा बढी ऋण लागेको जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘यति धेरै ऋण लागेपछि हामीले ४ महिनादेखि निर्माण कार्य रोकेका छौं । ऋण लिएका व्यवसायीहरूको तारन्तार फोन आउँछ। कहिले दिन्छस् पैसा भन्छन्। कुनै कम्पनी त बन्द हुने अवस्थामा पुगेछन्।’
उनले राज्यले अभिभावक बनेर रंगशाला निर्माणमा प्रोत्साहन गरे रंगशाला बन्ने बताए। ‘अझै पनि ६ महिना, १ वर्षमा रंगशाला बनाउन सकिन्छ,’ उनले भने, ‘यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारको सहयोग चाहियो।’
उनले रंगशाला निर्माणको कामबाट हात झिकेको वा जिम्मेवारीबाट भागेको नभई सरकारलाई सहयोगका लागि आह्वानमात्र गरेको बताएका छन्। ‘हामी विचलित भएर रंगशाला निर्माणको काम रोकियो भने यो देशमा विकास कहिल्यै हुँदैन भन्ने सन्देश जान्छ,’ उनले भनेका छन् ।
फाउण्डेसनले ३० हजार दर्शक अट्ने प्याराफिटसहितको क्रिकेट रंगशाला निर्माण थालेका थियाे । अहिलेसम्म रंगशालामा ३ हजार जना अट्ने प्याराफिट निर्माण भएको छ। मैदान पनि लगभग तयार भइसकेको छ।
गत साउन १५ गतेदेखि रंगशाला निर्माणको काम रोकिएको छ।
https://fb.watch/9jat-yGDEq/