१ मंसिर, काठमाडाैँ ।
अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधु मरासिनीले नेपालमै बनेको विद्युतीय मोटरसाइकल ‘यात्री’ को मंगलबार टेस्ट राइड गरेका छन् । गत वैशाखमा सार्वजनिक भएको यो मोटरबाइकको प्रवर्द्धन गर्ने उद्धेश्यले अर्थमन्त्री र सचिवले टेस्ट राइड गरेका हुन् ।
अर्थसचिव मरासिनीले मंगलबार आफ्नो ट्वीटरमा लेखेका छन्, ‘नेपालमा बनेको विद्युतीय मोटरसाइकल यात्रीको गज्जबको टेस्ट राइड गरियो। यस्तो वातावरणमैत्री सिर्जनाका लागि अशिम पाण्डे र उनको टिमलाई बधाई। यसका लागि अहिलेभन्दा उपयुक्त समय अर्को हुनै सक्दैनथ्यो, किनभने अहिले हाम्रो देश हरित विकासमा प्रतिबद्ध छ। हामी यस्ता घरेलु उद्यमलाई प्रबर्द्धन गर्नेछौं।’
यात्री कम्पनीको टोली आएर अर्थमन्त्रीसहित मन्त्रालयका पदाधिकारीहरूलाई आफ्नो विद्युतीय मोटरसाइकलबारे जानकारी गराएको’ थियाे ।अर्थसचिवको ट्वीटमा अर्थमन्त्री शर्मासहित अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय वातावरण सम्मेनलन (कोप-२६) को ट्वीटर ह्यान्डललाई मेन्सनसमेत गरिएको छ।
यात्री मोटरसाइकल नामक नेपाली स्टार्टअप कम्पनीले साढे ३ वर्ष लगाएर सात महिनाअघि दुई मोडेलमा विद्युतीय माेटरसाइकल बजारमा ल्याएको थियाे ।
यात्री पी जेरो मोडेलको मोटरसाइकल एक पटकको चार्जमा २३० किलोमिटर गुड्नसक्ने कम्पनीले जनाएको छ । सुरुवाती २.५ सेकेन्डमै ६० किलोमिटर प्रति घण्टाको गति पकड्न सक्ने यो मोटरसाइकल अधिकतम १४० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने दाबी गरिएको छ ।
त्यस्तै यात्री पी वान मोटरसाइकल एक पटक चार्ज गर्दा १२० किलोमिटरसम्म गुड्न सक्छ ।