प्रचलनमा आयो ई–पासपोर्ट, अनलाइन बाटै मिति र समय बुकिङ गरेर लिन सकिने

प्रचलनमा आयो ई–पासपोर्ट, अनलाइन बाटै मिति र समय बुकिङ गरेर लिन सकिने

१ मंसिर, काठमाडाैँ ।

राहदानी विभागले विद्युतीय राहदानी (इ. पासपोर्ट) सार्वजनिक गरेको छ । बुधवार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्दै इ पासपोर्ट सार्वजनिक गरेको हो ।

कार्यक्रममा महानिर्देशक डोरनाथ अर्यालले प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको बताए । उनले संसारमा चलेका राहदानीहरुमा विद्युतीय राहदानी सबै भन्दा पछाडिको रहेको बताए । महानिर्देशक अर्यालले नयाँ सार्वजनिक गरिएको राहदानी ३४÷६६ पृष्ठको रहेको र अब ट्राभल गर्नेहरुको पेज सकिएर राहदानी विभागमा धाइरहनु पर्ने समस्या समाधान हुने बताए । उनले अहिले नेपालमा इ पासपोर्ट बनाउन ठूला दुई वटा मेसिन रहेको भन्दै आवश्यक राहदानी बनाउन समस्या नपर्ने बताए ।

महानिर्देशक अर्यालले भने, ‘यो प्रविधिसँगै हामी पनि अघि बढ्ने हो र यो बास्तवमा प्रविधिको क्षेत्रमा एउटा फड्को हो, यो विद्युतीय राहदानी संसारमा चलेका राहदानीहरुमा सबैभन्दा पछाडिको हो, हामी यसलाई थर्ड जेनेरेशनको पासपोर्ट भन्छौँ, फस्ट हस्तलिखित, दोस्रो मेसिनले लेख्ने र तेस्रो अहिलेको विद्युतीय राहदानी हो, जसमा इलेक्ट्रोनिक चिप्स हुन्छ र त्यसलाई मेसिनले पढ्ने हुनाले इलेक्ट्रोनिक राहदानीको रुपमा चिन्छौँ, हामीसँग २ वटा ८ मिटरका मेसिनहरु छन्, फुल्ली अटोमेटिक मेसिनहरु छन्, जति पनि उत्पादन गर्न सक्ने अवस्था छ, ३४÷६६ पृष्ठको साधारण राहदानी हुनेछ, पहिला ३२ पृष्ठको मात्रै थियो, धेरै ट्राभल गर्नेहरुलाई पेज सकिएर पटक–पटक आउने समस्या समाधान हुन्छ ।’

अब अनलाइन बाट नैै मिति र समय बुकिङ गरेर लिन सक्ने हुँदा सेवाग्राही लाइन बस्न नपर्ने बताउँदै महानिर्देशक अर्यालले अब भीडको व्यवस्थापनमा सहज हुने बताए । उनले राहदानीलाई थप सुरक्षित गर्न राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरिएको पनि बताए । आजदेखि केन्द्रीयस्तरमा जारी भएको इलेक्ट्रोनिक पासपोर्ट मंसिर १५ गतेदेखि देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी हुनेछ ।

यसअघि नेपालमा ६ प्रकारका मेसिन रिडेबल पासपोर्ट जारी गरिँदै आएकोमा अब विद्युतीय पासपोर्ट पनि ६ वटा रंगमा जारी हुनेछ । सर्वसाधारणलाई चकलेटी रंगको पासपोर्ट वितरण गरिनेछ । मंसिर २ गतेदेखि सीमित सेवाग्राहीलाई विद्युतीय चिपमा आधारित पासपोर्ट वितरण हुनेछ । त्यस्तै मंसिर १५ गतेदेखि सबै सेवाग्राहीले इलेक्ट्रोनिक पासपोर्ट बनाउन सक्नेछन् । व्यक्तिगत, कूटनीतिक अधिकारी, आधिकारिक, शान्ति मिसनमा जाने सुरक्षाकर्मी, ट्राभल डकुमेन्ट, अस्थायी पासपोर्ट र रेकर्ड बुक गरी सात प्रकारका विद्युतीय पासपोर्ट आउन लागेको राहदानी विभागले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.