२ मंसिर, काठमाडौं ।
सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बाहेकका न्यायाधीशहरुको बिहीबार बसेको फुलकोर्ट बैठकले गोलाप्रथा प्रणालीबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो। बैठकमा प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरु बिहीबार फुल कोर्ट बैठकमा सहभागी थिए।
बैठकले सर्वोच्चको नियमावली संशोधन गरेर गोलाप्रथा लागू गर्ने निर्णय गरेको र उक्त निर्णय मुख्य रजिष्टारमार्फत् प्रधानन्यायाधीश राणा समक्ष पठाइने छ। राणाले निर्णयमा हस्ताक्षर गरेपछि राजपत्रमा सूचना प्रकाशितका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइने छ।
राजपत्रमा सूचना प्रकाशित भएपछि न्यायाधीशहरुले मुद्दा हेर्ने समझदारी बनेको बताएको छ। प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आएका न्यायाधीशहरु पनि गोला तानेर मुद्दा हेर्न तयार भएका छन्।