गोल रक्षक एन्जिलाको जीवनीमा फिल्म बनाउँदै मिलन चाम्स

गोल रक्षक एन्जिलाको जीवनीमा फिल्म बनाउँदै मिलन चाम्स

२ मंसिर, काठमाडाैँ ।

राष्ट्रिय महिला फुटबल टोलीकी गोल रक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनमा फिल्म बन्ने भएको छ । मिलन चाम्सले निर्देशन गर्ने फिल्ममा एन्जिलाको पूर्वाञ्चल क्षेत्रीय टोलीको गोलरक्षकदेखि राष्ट्रिय फुटबल टोलीको गोलकिपरसम्मको यात्रालाई देखाइने जनाइएकाे छ । एन्जिलाले आफ्नो खेल जीवनमा गरेको संघर्ष र हासिल गरेको सफलता प्रेरणादायिक रहेकाले फिल्म बनाउने लागेको चाम्सले बताए ।

यम थापाले फिल्मको स्क्रिप्ट लेखिरहेका छन् । प्रेम कुमार श्रेष्ठको निर्माण रहने फिल्मको वर्किङ टाइटल ‘एन्जिला’ राखिएको छ । फिल्मको छायांकन अर्को वर्ष गरिने भएको छ। कोरोनाले रोकिएको फिल्म ‘गोर्खा वारियर-२’ को यही आइतबारदेखि बाँकी छायांकन सुरु हुन लागेकाले यो फिल्म खिचिसकेपछि एन्जिलाको जीवनीमा आधारित फिल्मको छायांकन सुरु गरिने छ।

फिल्ममा अभिनय गर्ने मुख्य कलाकारहरु फाइनल भइसके पनि फिल्मको घोषणा सभामा मात्र कलाकारको नाम सार्वजनिक गर्ने निर्देशक चाम्सले बताए । स्रोतका अनुसार  फिल्ममा दयाहाङ राई र सिर्जना सुब्बा मुख्य भूमिकामा देखिँदैछन् । यो फिल्ममा एन्जिलाले पनि अभिनय गर्न सक्ने प्रवल सम्भावना रहेको बुझिएको छ ।

२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलंकामा सम्पन्न एएफसी यु–१४ गल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेञ्चमै सीमित भइन् । त्यसयता भने उनी नेपाली फुटबल टोलीको भरपर्दो गोलरक्षक बनेकी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.