२ मंसिर, काठमाडौं ।
नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन डब्लूटि२० आई खेलको सिरिजमा क्लिनस्वीप गरेको छ । बिहीबार भएकाे तेस्रो तथा अन्तिम खेलमा नेपालले कतारलाई १ सय ९ रनको फराकिलो अन्तरले हराउँदै सानदार क्लिनस्वीप गरेको हो ।
कतारको दोहामा रहेको वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रन बनायो ।
कतारकी शीर्षक्रमकी ब्याटर एलिना खानले ३३ बलमा ३ चौका सहित सर्वाधिक १९ रन बनाइन् । कप्तान आयशा १४ बलमा १ चौका र १ छक्का सहित १३ रनमा क्याच आउट भएकी थिइन् । अन्य ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन् ।
रुविना क्षेत्री बेलबासेले ४ ओभरमा ९ रन खर्चेर १ विकेट लिइन् । सरस्वती कुमारी चौधरीले ४ ओभरमा १ मेडन सहित १० रन खर्चेर १ विकेट लिइन् । सबनम राईको नाममा १ विकेट रह्यो । कतारका ४ खेलाडी रन आउट भएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । नेपाली महिला टि२० आईमा यो हालसम्मकै उच्च योगफल हो । यसअघि कतारसँग पहिलो खेलमा नेपालले बनाएको १ सय ४६ रन उच्च थियो । नेपाललाई बलियो योगफलमा पुर्याउन सीता रानामगर ७२ बलमा ७ चौका सहित सर्वाधिक ८२ रनमा अविजित रहेकी थिइन् । यो नेपाली महिला टि२० आईमा एकै खेलमा ब्यक्तिगत उच्च प्रदर्शन हो ।
ओपनर सीता र काजल श्रेष्ठले पहिलो विकेटका लागि ४.४ ओभरमा ३२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । काजललाई एन्जेलिन मार्वेले विकेटकिपर श्रुतिबेन राणाबाट ७ रनमा क्याच गराएकी थिइन् । दोस्रो विकेटका लागि ज्योति पाण्डे र सीताले ६७ रनको साझेदारी गरेका थिए । ज्योति २० बलमा १ चौका सहित २४ रनमा आउट भइन् ।
ओपनर काजल श्रेष्ठ ७ रनमा आउट भएकी थिइन् । ज्योति साची धडवलको बलमा रिज्फा बानोबाट क्याच हुन पुगेकी थिइन् । कप्तान आयशाले डली भट्टलाई १२ रनमा बोल्ड आउट गरिन् । सरिता मगर ११ बलमा १ चौका सहित ११ रनमा अविजित रहिन् । नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ रन र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो ।
नेपालले आइसिसी वुमन्स टि२० एसिया छनोट अघि तयारीको लागि कतारसँग तीन टि२० आई सिरिज सिरिज खेलेको हो । नेपाली महिला क्रिकेट टोली छनाेट खेल्न शुक्रबार युएईतर्फ लाग्नेछ ।