३ मंसिर, चितवन ।
नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र हुने स्थान नारायणी नदी किनारमा मञ्च निर्माणको काम धमाधम भइरहेको छ । बाढीले खाल्टाखुल्टी पारेको ठाउँमा माटो भरेर जमिनको सतह मिलाइँदै छ ।
महाधिवेशनमा लाखौँ जनता सहभागी हुने भएकाले नारायणगढस्थित नदी किनारको उत्तरपट्टि कुनामा थुप्रिएको ढुंगालाई पनि डोजरको सहायताले समथर बनाउने काम भइरहेको छ । यस ठाउँमा चार खण्डमा मञ्च निर्माण हुने एमालेले जनाएको छ ।
चितवनमा १०–१२ मंसिरसम्म हुने महाधिवेशनको उद्घाटन सत्र १० मंसिरमा नारायणी नदी किनारमा हुने भएको हो । प्रमुख अतिथि एमाले अध्यक्ष केपी ओलीसहित स्थायी कमिटीका सदस्य र अतिथि बस्ने मुख्य मञ्च बीच भागमा हुने छ । त्यसको छेउमा भाषण गर्नका लागि छुट्टै खण्डको मञ्च बन्ने छ ।
मुख्य मञ्चको छेउमा केन्द्रीय सदस्य बस्ने र कलाकारले प्रस्तूति देखाउन छुट्टाछुट्टै मञ्च निर्माण हुने एमाले केन्द्रीय सदस्य एवं महाधिवेशन स्वयम्सेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले जानकारी दिए । ‘महाधिवेशनका लागि चार खण्डमा भव्य मञ्च निर्माण गर्दै छौँ । त्यसको लागि बुधबारदेखि खाल्टाखुल्टी पुर्ने काम भइरहेको छ’, उनले भने ।
९ मंसिरको साँझसम्म मञ्च निर्माण सम्पन्न भइसक्ने उनको भनाइ छ । एक पटकमा ७२ जना कलाकार सहभागी हुन मिल्ने गरी कलाकारका लागि मञ्च निर्माण हुने उनले बताए । ७२ जना कलाकारको आर्केष्टा (धुन दिने उपकरण)बाट राष्ट्रिय गानको धुन बजाइने उनले जानकारी दिए ।