बहुलाहा कुकुरले टोक्दा दुई दिनमै अठार जना घाइते

बहुलाहा कुकुरले टोक्दा दुई दिनमै अठार जना घाइते

३ मंसिर, कञ्चनपुर।

शुक्लाफाँटा नगरपालिका–४ र ११ का १८ बासिन्दालाई बहुलाहा कुकुरले टोकेर घाइते बनाएको छ । बुधबार र बिहीबार गरी दुई दिनको अवधिमै उनीहरुलाई घाइते बनाएको हो । वडा नं ४ का १२ र ११ का ६ जनालाई कुकुरले टोकेको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार घाइते सबैको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ । कुकुरले २१ पशुचौपायालाई समेत टोकेको छ । स्थानीय बासिन्दाका अनुसार तीन बङ्गुर, दुई बाख्रा, एक पाडी, सात कुकुर तथा सात गोरुलाई समेत कुकुरले टोकेको छ ।

घाइते हुनेमा वडा नं ४ का ६० वर्षीय हरिसिंह राना, १० वर्षीया बालिका रोशनी राना, १८ वर्षीया रविना राना, १५ वर्षीय आकाश राना र २३ वर्षीय रविशना राना छन् ।

यसैगरी, ७ वर्षीय जेन राना, २९ वर्षीया ममता राना, १२ वर्षीय सुशील राना, ८ वर्षीय सुशान्त राना, ३० वर्षीय वीरेन्द्ररी राना, ९ वर्षीया लक्ष्मी राना र ६ वर्षीय जेनिस राना छन् । घाइते भएकाहरुलाई एम्बुलेन्समा राखेर उपचारका लागि अस्पताल पुर्याएको पीपलाडी स्वास्थ्य चौकीका एम्बुलेन्स चालक गौरे लुहारले जानकारी दिए । उनका अनुसार स्थानीय बासिन्दाले चार कुकुरलाई मारेका छन् ।

वडाध्यक्ष ज्ञानबहादुर बिष्टले कुकुरले सर्वसाधारण र चौपायालाई टोक्न थालेपछि नगरपालिकाको पशु शाखालाई नियन्त्रणका लागि पहल गर्न जानकारी गराइएको बताए । “पशु शाखालाई जानकारी गराइसकेका छौँ,” उनले भने, “वडा क्षेत्रमा छाडा कुकुर धेरै छन् । सबैलाई रेबिजविरुद्धको सुई लगाउनका लागि कार्य अगाडि बढाउन भनेको छु ।”

वडा नं ११ कलुवापुरका ५० वर्षीय राजबहादुर सेटी, ४० वर्षीया मन्जरी साउँद, ३२ वर्षीया लक्ष्मी नाथ, २५ वर्षीय रमेश सेटी र ५५ वर्षीय रामबहादुर ऐरलाई कुकुरले घाइते बनाएको छ । घाइते सबै जनाको सो अस्पतालमा उपचार भइरहेको छ ।

कुकुरले बाटोमा हिँड्नेहरुलाई र घरमै बाँधिएका पशुचौपायालाई टोक्न थालेपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् । बाह्य क्षेत्रमा हिँड्डुल गर्नसमेत डराएर हिँड्नुपर्ने अवस्था सृजना भएको छ । विशेषगरी विद्यालय जाने बालबालिलाई विद्यालय पठाउनसमेत अभिभावक डराउन थालेका छन् । बहुलाहा कुकुर नियन्त्रण गर्नका लागि पशु शाखाबाट टोली परिचालन गरिने नगरप्रमुख दिलबहादुर ऐरले बताए । रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.