३ मंसिर, काठमाडौँ ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) सम्झौता नेपालले लिने कि नलिने भन्ने यही मंसिर २८ गतेसम्म टुंगो गर्न समयसीमा दिएका छन् । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लुले शुक्रबार सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा समयसीमा तोकेर एमसीसीबारे निर्णय गर्न भनेका हुन् ।
त्यतिन्जेलसम्म नेपालले टुंगो नगरे अमेरिकाले यो सहयोग अन्यत्र लैजानेबारे विकल्प अघि बढाउने उनले बताएका छन् । ‘नेपालले एमसीसी सम्झौता अघि बढाउने कि नबढाउने भन्ने १४ डिसेम्बरसम्म भन्नु पर्यो । हुन्छ कि हुन्न भन्ने जवाफ चाहियो । नत्र अयन्त्र ट्रान्सफर गर्छौं भन्नु भएको छ’ दाहालका स्वीकय सचिव रमेश मल्लले भने ।
भेटमा अध्यक्ष दाहालले स्पष्ट जवाफ दिएनन् । उनले विदेशीहरू सहयोग लिने विषयमा नेपाल सकारात्मक नै रहेको तर एमसीसी सम्झौता कागजातका कारण नेपालमा अहिले बहस चलिरहेको बताएका थिए । भेटमा दाहालले पहिले भएको सम्झौतामा पछि संसदीय अनुमोदनको कुरा जोडिएपछि नेपालमा त्यसबारे बहस चलेको बताएका थिए ।