३ मंसिर, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी सदस्य संख्या करिब ८ लाख पुगेको दाबी गरेको छ । शुक्रबार आयाेजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले पार्टी सदस्य ८ लाख पुगेको जानकारी दिएका हुन् ।
उनले अझै यो संख्या बढ्न सक्ने बताएका छन् । ‘देशभरी पार्टी सदस्यको संख्या करिब ८ लाख पुगेको छ । डिजिटल गर्ने र सर्भरहरुबाट आउनुपर्ने भएकाले केही बाँकी छ । त्यसकारण यकिन कति भन्ने पछि फाइनल आउँछ’ श्रेष्ठले भने ।
केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा ७ सदस्यीय, पालिकामा ५ सदस्यीय र वडा तहमा ३ सदस्यीय निर्वाचन समितिहरु समेत गठन गरेको छ ।
माओवादी केन्द्रले मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ ।