धार्मिक तथा ऐतिहासिक नमोवुद्ध मेला, शान्तिको लागि लाखौँ दीप प्रज्वलन

धार्मिक तथा ऐतिहासिक नमोवुद्ध मेला, शान्तिको लागि लाखौँ दीप प्रज्वलन

४ मंसिर, काभ्रे।
कार्तिक पूर्णिमाका दिन लाग्ने ऐतिहासिक नमोबुद्ध जात्रा सुरु भएको छ । दुई बर्षसम्म कोरोना संक्रमणको प्रभावका कारण बन्द रहेकोमा संक्रमण दर कम भएसँगै यसबर्ष मेला लागेको हो ।

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका १ र ११ स्थित नमोबुद्धमा ऐतिहासिक एवं धार्मिकस्थल समेत रहेको सो क्षेत्रमा हरेक वर्ष कार्तिक पूर्णिमाको दिन मेला लाग्ने गर्दछ । मेलामा दर्शनार्थीहरु जम्मा भई शान्तिको लागि लाखौँ दीप प्रज्वलन गर्दै आईरहेका छन् । मेला आज बिहानसम्म लाग्ने गर्दछ ।

जिल्लाको तत्कालिन शारदा वतासे गाविसस्थित इटेका महाराजा महादीपका ३ छोरा महासत्व, प्रभासत्व र वोधिसत्व शिकार खेल्ने क्रममा नमोवुद्ध भन्ने ठाउँमा जाँदा त्यहाँ प्रश्रव वेदनाले छटपटाएकी बघिनी र ५ डमरुको मरणासन्न अवस्थादेखि पछि राजकुमार महासत्वको मनमा दयाको भाव पलाई दाजुहरुसँग बघिनीलाई बचाउन सक्ने उपाय सोधेपछि उनले बघिनीलाई बचाउनको लागि आफ्नो शरीर दान गरेका थिए भन्ने धार्मिक कथन रहेको नमोबुद्ध भगवान ध्यान गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले बताए।

आफ्नो छोराको अस्तुमात्र राजा महादीपले नमोवुद्धमा पाएपछि छोराको अस्तु राखेर उक्त स्थानमा राजाले गुम्वा निर्माण गरी दिएका थिए । आफ्नो शरीर बघिनीको लागि दान गरेको २५ सय वर्ष पछाडी लुम्विनीमा तीनै राजकुमार महासत्वले मायादेवीको कोखबाट भगवान गौतम वुद्धको रुपमा जन्म लिएको र आफु जन्मेपछि वुद्धले नमोवुद्धमा आई त्यही अस्तु भएको ठाउँमा पुजा आजाका साथै साङगे लगाएको धार्मिक विश्वास रहँदै आएको छ ।

पर्यटन क्षेत्रको लागि उर्वराक्षेत्रको रुपमा समेत रहेको नमोवुद्धमा कुतुङटासी छोलिङ गुम्वाको साथै हजारौ माने र कलात्मक वुद्धका मुर्ति रहेका छन् ।

नमोवुद्धमा कातिक पूर्णिमा बाहेक चैत्र पूर्णिमा र साउन महिनाको प्रत्येक बुधवार समेत ठुलो मेला लाग्ने गरेको छ । मेला भर्न नेपालका विभिन्न जिल्लाबाट मात्र नभइ विदेशबाट बौद्धधर्माबलम्बीहरु समेत आएको स्थानीयले बताएका छन् ।

एक पटक पाइला टेकेमात्र जुगौ जुगको पाप अन्त्य भएर जाने र आफुले चिताएको मनोकांक्षा पूरा हुने थलोको रुपमा परिचित नमोवुद्धमा विशेष गरी नेवार जातका बौद्ध धर्माबलम्बीहरुले गत बुधबार रातभर आफ्ना पुर्खाहरुको सम्झनामा दीप प्रज्वलन गरी जाग्राम बसेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.