४ मंसिर, काठमाडौं।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरुले आइतबार बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने निर्णय गरेका छन् ।
शुक्रबार बसेको नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यसमितिको बैठकले थप विरोधका कार्यक्रम सार्वजनिक गर्दै आइतबार बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने निर्णय गरेको हो ।
बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले शनिबार जारी गरिएकाे विज्ञप्तिमा लेखिएकाे छ- ‘अदालतभित्र दङ्गा प्रहरी प्रवेश गराउने, कानुन व्यवसायीको शान्तिपूर्ण धर्ना, विरोध कार्यक्रमलाई दबाउन हरियारसहितको दङ्गा प्रहरीको ठूलो सङ्ख्यामा तैनाथ गरी कानुन व्यवसायीहरुलाई दमन, हातपात, कुटपिट गरी घाइते बनाएको विरोधमा देशभरका सबै अदालतहरुमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाहरुमा बहस पैरवी नगर्ने भनी निर्णय गरिएकाले सो बमोजिम गर्न, गराउनु हुन, बहस नगरिने व्यहोराको सम्बन्धित अदालतमा पत्राचार गर्न समेत सबै बार एकाईहरुलाई जानकारीका साथ अनुरोध गरिन्छ।’
पौडेलले पोखरामा यहीँ मङ्सिर २४, २५ र २६ गते हुने राष्ट्रिय सम्मेलन स्थगित भएको पनि जानकारी दिएका छन् ।
