४ मंसिर, बुटवल ।
कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत गृहमन्त्री बालकृष्ण खाँणको क्षेत्र लुम्बिनी प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिएका गृहमन्त्रीका स्वकिय सचिव विजेश न्यौपाने पराजित भएका छन् ।
शनिबार रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट लुम्बिनी प्रदेश प्रतिनिधिको उम्मेदवारी दिएका न्यौपाने पराजित भएका हुन् । साे क्षेत्रमा ‘क्लिन स्विप’ गर्दै रामचन्द्र पौडेल समूहको पुरै प्यानलले विजयको झण्डा गाँडेको छ । उक्त क्षेत्र गृहमन्त्री खाँणको पकड रहेपनि माहोल उल्टिएको छ ।
यसैगरी रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ (ख) मा पनि पौडेल समूहका अधिकांश उम्मेदवार विजयी भएका छन् भने देउवा पक्ष कमजोर सावित भएको छ ।
उक्त क्षेत्रमा पौडेल समूहको र्शुराम ढकालको प्यानलले जित हासिल गरेको छ भने देउवा समूहका रामेश्वर श्रेष्ठको प्यानल पराजित हुन पुगेको छ ।
निर्वाचन क्षेत्र नम्बर ३ (क०) मा भने देउवा समूहको प्यानलले जित दर्ता गरेको छ । तर, देउवा समूहले उक्त क्षेत्रमा धाँधली गरेर जित हासिल गरेको आरोप लगाइएको छ । पौडेल समूहका उम्मेदवार देउवा पक्षबाट कुटिएर घाइते भएको छ ।
क्षेत्र नम्बर ३ (ख) मा देउवा समूहका घनश्याम चालिसे नेतृत्वको पुरै प्यानल विजयी भएको छ भने निर्वाचन क्षेत्र नम्बर ४ (क) मा महामान्त्री शशांक कोइराला निकट शिवकुमार यादव र ४ (ख) मा पनि कोइरालानिकट नै श्रीराम यादव नेतृत्वको पुरै प्यानलले विजय हात पारेकाे छ ।