५ मंसिर, एजेन्सी ।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वाट्फोर्डसँग लज्जास्पद हार बेहोरेको छ । भिकारेज रोड वाट्फोर्डमा शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको युनाइटेडले घरेलु टोलीसँग ४–१ को लज्जास्पद हार बेहोरेको हो ।
युनाइटेलाई हार चखाउन जोसुआ किङ, इस्माइला सार, जोओ पेड्रो र इमानुएल डेनिसले गोल गरे । युनाइटेडका वैकल्पिक खेलाडी डोनी भान डि विकले दोस्रो हाफमा एक गोल फर्काए । घरेलु टोलीले खेलको आठौं र ११औं मिनेटमा अग्रता लिने सुवर्ण अवसर खेर फालेको थियो ।
आठौं मिनेटमा इस्माइला सार दुई पटक पेनाल्टीमा चुकेका थिए । पहिलो प्रहारलाई गोलरक्षक डेविड डे हेयाले बचाएपनि रिबाउन्डमा किको फेमेनियाले गोल गरेका थिए । तर पेनाल्टी प्रहार गर्नुअघि नै फेमेनिया बक्सभित्र छिरेको कारण पेनाल्टी पुन: प्रहार गर्नुपरेको थियो । सारले नै पुन: प्रहार गरेको पेनाल्टीलाई पनि डे हेयाले विफल पारे ।
तर २८औं मिनेटमा जोसुआ किङले इमानुएल डेनिसको पासमा गोल गर्दै वाट्फोर्डलाई अग्रता दिलाए । लगातार दबाब बनाएको वाटफोर्डले घरेलु मैदानमा सम्झनलायक प्रदर्शन गरेको थियो ।
४४औं मिनेटमा इस्माइला सारले फेमेनियाको पासमा गोल गर्दै वाट्फोर्डलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र भित्रबाट कटब्याकमा आएको पासलाई गोल गरेका थिए । ५०औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको पासमा डोनी भान डि विकले हेडरमार्फत गोल गर्दै युनाइटेडलाई खेलमा फर्कने संकेत दिए । उनले रोनाल्डोको पासलाई अनमार्क रहेको अवस्थामा पोस्टको दिशा दिएका थिए ।
तर, ६९औं मिनेटमा ह्यारी मगाएर दोहोरो पँहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युनाइटेड समस्यामा पर्दा थप दुई गोल खान पुगेको थियो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको समयमा जोओ पेड्रो र इमानुएल डेनिसले गोल गर्दै युनाइटेडलाई लज्जास्पद हार चखाए ।
यो जितसँगै वाट्फोर्ड १२ खेलबाट १३ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ । पराजित युनाइटेड १७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।