विराटनगर, साउन २४
मोरङको पथरीशनिश्चरे –३ स्थित भित्री सडकखण्डमा बुधबार स्कुल बस दुर्घटना हुँदा ३२ जना विद्यार्थी घाइते भएका छन् भने घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
बा १ ख ८००२ नम्बरको पथरीशनिश्चरे–३ स्थित ज्योति विकास बाल संरक्षण बोर्डिङ स्कुलको बस बुधबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाईते भएका सोही विद्यालयका चार जना विद्यार्थीलाई विराटनगरस्थित न्युरो अस्पतालमा ल्याइएको छ । अन्य घाईतेको पथरी अस्पतालमा उपचार भइरहेको छ ।
बोर्डिङ स्कुल छुट्टी भएपछि विद्यार्थी र्पुयाउन गएका बेला स्टेरिङलाई नियन्त्रणमा लिने लक खुस्किंदा बस सडकबाट धान खेतमा पल्टिएको जनाइएको छ । तत्काल उद्धार गर्न सकिएका कारण ठूलो क्षति भने नभएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।