६ मंसिर, काठमाडौं ।
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझा पार्टीसँग एकीकरण गरेर गल्ती भएको स्वीकारेका छन् । पार्टी एकीकरण गर्दा बाहिरै बसेका उपाध्यक्ष अजिता राईहरुले नयाँ दल दर्ता गरेपछि बधाई दिँदै उनले त्यसवेला एकीकरण गरेर गल्ती भएको स्वीकारेका हुन् ।
पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गत मंसिरमा विवेकशील र साझा पार्टीको एकीकरण हुँदै गर्दा तपाईँहरूले ‘गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता’ मा अर्को पक्षको विश्वास गर्न सकिँदैन भन्नुभएको थियो । त्यहाँ तपाईंहरू सही साबित हुनुभयो ।’
उनले छिट्टै संगठनिकरुपमा पनि सँगै हुने बताउँदै भनेका छन्, ‘तत्कालीन हिसाबबाट विवेकशील र साझाको एकीकरणको नेतृत्व मैले गरेको हुँदा म तपाईंहरु १३ जनासँग माफी माग्छु । हाम्रो उद्देश्य पवित्र थियो ।’
गत मंसिरमा विवेकशील र साझा पार्टीबीच दोस्रो पटक एकीकरण भएको थियो । एकीकरण हुँदा तत्कालीन उपाध्यक्ष राईसहित १३ जनाले एकीकरण प्रक्रियामा सहभागी नहुने निर्णय गरेका थिए ।
साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक एजेण्डामा स्पष्ट छलफल नभइ एकीकरण गर्नु नहुने उनीहरुको धारणा थियो । विवेकशीलका पूर्वसंयोजक उज्जवल थापाले पनि तत्काल साझा पार्टीसँग एकीकरण गर्नु नहुने अडान राखेका थिए । तर पार्टीमा बहुमत सदस्यले एकीकरण गर्ने निर्णय गरेका थिए ।
निर्वाचन आयोगले राई पक्षको नेपाल विवकेशील पार्टी दर्ता भएको प्रमाण पत्र आइतबार दिएको छ । पाण्डेले मौखिक रूपमा पनि व्यवस्था विरोधी एजेन्डा नबोक्ने सहमति र गणतन्त्र, सङ्घीयता, धार्मिक स्वतन्त्रता र समावेशिताबारे सहमति जनाएकाले त्यतिवेला एकीकरणको निर्णय लिइएको स्पष्टीकरण दिएका छन् ।
उनले भनेका छन्, ‘‘हामी सुसंस्कृत विवेकशील राजनीति गर्दै थियौँ, यसरी लप्पनछप्पन गर्ने कुरा सोच्न सक्ने कुरा भएन । आखिर राजनीति विश्वास न हो । हामीले विश्वास गर्यौँ । आज दुःखको कुरा के भयो भने सु–संस्कृत राजनीतिमा अर्को पक्षले लेखेकै र भएकै सहमति मान्नु मेरो गल्ती भयो भन्नुपरेको छ । आज वैकल्पिक राजनीतिमा लप्पनछप्पन नजान्दा यो परिस्थिति आएको हो ।’