६ मंसिर, काठमाडौं ।
उपकप्तान सीता रानामगर र इन्दु बर्माको कीर्तिमानी साझेदारीमा नेपालले आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा हङकङलाई १ सय ५ रनको मध्यम लक्ष्य दिएको छ ।
आइसिसी एकेडेमी ग्राउन्ड नम्बर टु मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनायो । नेपालका लागि सीता रानामगर ५८ बलमा ४ चौकासहित सर्वाधिक ४० रनमा अविजित रहिन् । त्यस्तै ईन्दु बर्मा ३६ बलमा ३ चौका सहित ३१ रनमा रन आउट भइन् । खेलमा नेपालले २७ रन एक्स्ट्रा(अतिरिक्त) पाएको थियो ।
तेस्रो विकेटका लागि इन्दु र सीताले ८१ रनको साझेदारी गरेका थिए । यो तेस्रो विकेटका लागि नेपाली महिला टि२० आईमा भएको सर्वाधिक ठूलो साझेदारी हो भने समग्रमा नेपाली महिला टि२० आईमा बनेको दोस्रो ठूलो साझेदारी हो ।
नेपालले पहिलो ओभरको दोस्रो बलमै ओपनर कविता कुँवरलाई शून्यमा गुमाएको थियो । बेट्टी चानले मरिको हिलबाट कवितालाई क्याच गराएकी थिइन् । दोस्रो विकेटका लागि काजल श्रेष्ठ र सीताले ४५ बलमा २१ रनको साझेदारी गरेका थिए । काजल कप्तान केरी चानको आठौं ओभरको पाँचौं बलमा ४ रनमा हिलबाट क्याच हुन पुगेकी थिइन् । २३ बल खेलेकी काजलले कुनै बाउन्ड्री प्रहार गर्न सकिनन् ।