६ मंसिर, काठमाडौँ ।
भारतले ७३औं गणतन्त्र दिवस समारोहमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहित बंगालको खाडीको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यको प्रयास (बिमस्टेक) का राष्ट्र वा सरकार प्रमुखलाई प्रमुख अतिथि बनाउने तयारी गरेको छ ।
गणतन्त्र दिवसमा आयोजना हुने मुख्य परेडको अतिथिका लागि प्रधानमन्त्री देउवासहित बिमस्टेक देशका नेताहरुसँग सम्पर्क गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भारतले जनवरी २६ मा गणतन्त्र दिवस मनाउने गरेको छ । इन्डियन एक्सप्रेसका अनुसार भारतीय विदेश मन्त्रालयले सबै देशलाई कार्यक्रममा सहभागी हुन समय उपलब्ध हुने वा नहुने भन्ने विषयमा कूटनीतिक च्यानलबाट सम्पर्क गरेको छ । सबै देशका नेताबाट कार्यक्रममा सहभागी हुने निश्चित भएपछि मात्रै भारतले अतिथिको सूची सार्वजनिक गर्नेछ ।
यसअघि नेपालबाट सन् १९५१ मा राजा त्रिभुवन र सन् १९९९ मा राजा विरेन्द्र गणतन्त्र दिवसको प्रमुख अतिथि बनाइएको थियो । बिमस्टेकका सदस्यहरुमा भारतसहित नेपाल, बंगलादेश, भुटान, श्रीलंका, म्यान्मार र थाइल्यान्ड छन्।
भारतले आफ्नो रणनीतिक तथा कूटनीति चासो, व्यापारिक स्वार्थ, अन्तर्राष्ट्रिय भूराजनीतिलाई ध्यानमा राखेर गणतन्त्र दिवसको प्रमुख अतिथि बनाउँदै आएकाे छ ।
यसअघि सन २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथग्रहण समारोहमा पनि बिमस्टेकका नेताहरुलाई अतिथिको रुपम निम्त्याएका थिए । नेपालबाट पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सपथग्रहण समारोहमा सहभागी भएका थिए ।