६ मंसिर, काठमाडौँ ।
संसदीय सुनुवाइ समितिका सभापति तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालत छोडेर जानुपर्ने बताएका छन् । साेमबार नेपाल बार एसोसिएसनले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्ताे बताएका हुन् ।
तत्कालीन अवस्थामा आफूहरूले बाध्यतावश जबरालाई प्रधानन्यायाधीश बनाएको उनकाे भनाइ छ । उनले भने, ‘मेरो व्यक्तिगत विचार हो, उहाँले अदालत छोडेर जानुपर्छ । उहाँलाई एउटा परिस्थितिमा प्रधानन्यायाधीश बनाइएको हो । उहाँलाई नदिँदा तीन वर्ष पुगेको अर्को न्यायाधीश थिएन । अर्को व्यक्ति नभएर हामीले बाध्यतावश उहाँलाई बनाएका हौं । उहाँलाई नबनाउँदा सर्वोच्च अदालत नेतृत्व विहीन हुने अवस्था थियो । पहिले मान्छेले नसोचेको कुरा पछि देखिन्छ ।’
यस क्रममा उनले अदालतमा बार सम्बद्ध कानुन व्यवसायीहरूमाथि भएको प्रहरी दमनप्रति आपत्ति जनाएका थिए । प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउन र न्यायालय सुदृढीकरणको माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले सोमबार लोसपासहित अन्य विभिन्न दलहरूलाई ज्ञापनपत्र बुझाएका छन् ।