७ मंसिर, काठमाडौं ।
गत असारमा मेलम्ची खोलामा आएको विनाशकारी बाढीका कारण बगाएको रातो पुल बगाएपछि नेपाली सेनाले बेलिबृज बनाइरहेको छ।
बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिका–७ स्थित चनौटे–भिरखर्क जोड्ने ट्रस बृज (रातो पुल) बगाएपछि आवतजावतमा स्थानीय समस्यामा परेका थिए। त्यसँगै उक्त स्थानमा बेलिबृज बनाउने जिम्मा नेपाली सेनालाई दिइएको थियो।
सेनाले कार्तिक ४ गतेबाट चनौटेमा परिचालित भई बेलिबृज निर्माण कार्य सञ्चालन गरिरहेको जनाएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले एक विज्ञप्ति जारी गरि बेलिबृज निर्माण कार्यको हालसम्मको प्रगती विवरण सार्वजनिक गरेको छ।
नेपाली सेनाका अनुसार बृजको सर्भे कार्य सम्पन्न भई डिजाइन र लागत तयार भएको छ भने बेलीबृज जडान गर्ने स्थानमा दुवैतर्फ ’एबुटमेन्ट’ निर्माणको कार्य भइरहेको छ।
ग्यावियन वाल निर्माणका लागि ढुङ्गा फोर्ने तथा संकलन गर्ने तथा फिलिङ्गको कामसमेत भइरहेको सेनाले जनाएको छ।
गाउँपालिकासंगको सहकार्यमा ह्युम पाइप राखि अस्थायी ट्रयाक निर्माण गरि हाललाई आवागमन सहज गरिएको र उक्त वैकल्पिक मार्गको नियमित मर्मत संभार भइरहेको छ।
उक्त वैकल्पिक मार्गबाट हाल दैनिक ४५–५० यात्रुबाहक÷मालबाहक गाडीहरु आवतजावत भइरहेको छ। उक्त डाइभर्सनबाट किउल, टिम्बु, पाँचपोखरी लगायत हेलम्बु सम्मको बाटो खुल्ला भएको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाले जडान गरीने बेलिब्रिजका अधिकांश सामग्रीहरु दमौलिबाट ढुवानी गरी स्थान विशेषमा एकिकृत गरीसकिएको र केही सामग्री ल्याउने क्रममा रहेको जानकारी दिएको छ।
उक्त बेलिब्रिज पुस मसान्तसम्म जडान गरी संचालनमा ल्याइ सक्ने योजना रहेको जनाउँदै सेनाले बेलिब्रिज निर्माण कार्यको क्रममा स्थानीयवासी २५ जनालाई रोजगारीको अवसर दिइएको जनाएको छ।