चुरे संरक्षण गर्न सके संस्कृति र सभ्यताको संरक्षण हुन्छ : राष्ट्रपति भण्डारी

चुरे संरक्षण गर्न सके संस्कृति र सभ्यताको संरक्षण हुन्छ : राष्ट्रपति भण्डारी

७ मंसिर, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षण गर्न सके समग्र संस्कृति र सभ्यताको संरक्षण हुने बताएकी छन्।

महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रङ्गशालाको मंगलबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश २ को सभ्यता र पर्यावरणमा चुरेको भूमिका महत्वपूर्ण रहेको बताइन्।

प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिलाक्षेत्रका राष्ट्रिय सम्पदा र यहाँको गौरवमय संस्कृतिको संरक्षणमा पहलकदमी लिन सम्बद्ध सबैपक्षसँग उनले आग्रह गरिन्।

मुलुकको तराई क्षेत्र अन्न उत्पादनको उर्वर भूमि रहेको हुँदा कृषिमा नयाँ प्रविधिको प्रयोग र अभ्यास बढाउँदै किसानलाई आधुनिक खेतीतर्फ लाग्न आवश्यक सीप, प्रविधि र सुविधा बढाउन स्थानीय तह, प्रदेश र केन्द्रसहित तीनै तहका सरकारले पहलकदमी लिनपर्ने राष्ट्रपति भण्डारीले बताइन्।

तराईको जीवन चुरे पर्वतसँग अभिन्न रुपले जोडिएको हुँदा चुरेको संरक्षणमा समुचित ध्यान पुग्न आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाइ थियो। चुरेको संरक्षण विना तराईको समृद्धि सम्भव नरहेको राष्ट्रपति भण्डारीले बताइन्।

राष्ट्रपति भण्डारीले ३०० वर्ष पहिले मटिहानीमा स्थापित तत्कालीन संस्कृत पाठशाला र हालको राजकीय संस्कृत माध्यमिक विद्यालयले देशमा शिक्षाको ज्योति छर्न महत्वपूर्ण योगदान दिएको राष्ट्रपति भण्डारीले उल्लेख गरिन्।

समारोहमा राष्ट्रपति भण्डारीलाई मटिहानी नगरपालिका, सांसद चन्दा चौधरी र महोत्तरी उद्योग वाणिज्य सङ्घले मिथिला कला, संस्कृति झल्कने उपहार प्रदान गरिन्। सो अवसरमा मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले राष्ट्रपतिलाई अभिनन्दनपत्र प्रदान गरे।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.