७ मंसिर, काठमाडाैँ ।
नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनैपनि विवाद र अन्तरविरोध नरहेको बताएका छन् । मंगलवार नेकपा(एमाले)को स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सचिव विष्टले एमालेको महाधिवेशन सहमति र समझदारीकै आधारमा सम्पन्न गर्ने बताए । उनले एमालेभित्र कुनैपनि प्रकारको विवाद र अन्तरविरोध नरहेको स्पष्ट पारे ।
महाधिवेशनमा पार्टीभित्र किचलो र समस्या पैदा नहुने उनले उल्लेख गरे । उनले भने – ‘आजको सन्दर्भमा नेकपा (एमाले)लाई चारै तर्फबाट जुन ढंगले घेराबन्दी गर्ने प्रयत्न गरिदैँछ, नेकपा(एमाले)माथि षड्यन्त्र गरिदैछ । जुन प्रकारले प्रहारको निशाना बनाइँदै छ, यो कुरालाई हामीले गम्भिरतासाथ मनन गर्दै सहमती, समझदारीका आधारमा एउटा निश्चित मर्यादाको सिमा भित्र रहेर नै हामीले महाधिवेशन सम्पन्न गर्छौ । यसतर्फ हामी अत्यन्त गम्भिर हुन्छौँ । एमालेभित्र विवाद, अन्तरविरोध छैन । एमाले स्वस्थ ढंगले, मर्यादित ढंगले, सझदारीताका साथ राष्ट्रिय महाधिवेशन सम्पन्न ग¥यौँ भनेर सन्देश दिने, आम कार्यकर्ताहरुमा एकताको भावना पैदा गर्ने, आम कार्यकर्ताहरुमा उत्साह पैदा गर्ने, जनताको अपेक्षाहरुलाई पुरा गर्ने, सशक्त, एकतावद्ध पार्टी निर्माण गर्नेगरी नै हामी भुमिका खेल्छौँ । यो महाधिवेशनमा कुनैपनि प्रकारको त्यस्तो किचलो, समस्या हुँदैन ।’
एमाले सचिव विष्टले एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको जिकिर गरे। एमालेलाई गुटरहित र प्यानलरहित बनाउनेगरी अघि बढ्ने उनले बताए । उनले भने – ‘बाहिर जुन प्रकारले एमालेको महाधिवेशनमा भाँडभैलो होलाकी भनेर मान्छेले अनुमान, कल्पना गरेका होलान् । त्यो प्रकारको अवस्था आउँदैन । हामी आउन दिदैनौँ । समझदारीपूर्वक, अत्यन्त उच्च उत्साह पैदा गर्नेगरी नै हामी अगाडी बढ्छौँ । एमालेभित्र कुनै गुटबन्दी, प्यानल छैन । गुटरहित, प्यानलरहित एमाले निर्माणको लागि हामी अगाडी बढ्छौँ ।’