७ मंसिर, काठमाडाैँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबार सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सर्वोच्च अदालतका न्यायाधीशहरुमाथि ठूलो प्रश्न उठेकाले सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अवस्था देखेको बताए ।
अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराप्रति संकेत गर्दै कुनै अमूक व्यक्तिले राजीनामा गर्दैमा न्यायिक क्षेत्रको प्रदुषण हटाला ? भनि सम्पादकहरुसामू नै प्रश्न उठाए । उनले अदालतभित्र सेटिङमा सहमत भएर फैसला गरिएको देखिएको, परमादेशको आधारमा आफूलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै आक्रोश समेत व्यक्त गरे ।
अध्यक्ष ओलीले भने, ‘अहिले सर्वोच्च अदालत प्राङगणमा जे भईरहेको छ । सर्वोच्च अदालतभित्र जे भईरहेको छ । यो बहुत दुःखद् छ । र यो टाउको दुखेको औषधि नाईटोमा लाएजस्तो गरेर यसको उपचार हुनेवाला छैन । अमूक व्यक्ति हलानो हटिदिएपछि यो सिलसिला उहाँहरुले त मत देख्छु–सबैले राजीनामा दिनुपर्ने स्थिति देख्छु । उहाँहरुप्रति यत्रो प्रश्न उठेपछि यत्रो सेटिङमा सहमत भएर फैसला गरेको देखिएपछि उहाँहरुले त राजीनामा गर्नुपर्ने हो जस्तो लाग्छ । अनि फलानोले राजीनामा गर्दा हुन्छ भन्ने जस्तो कुराले यसको न्यायिक क्षेत्रको प्रदुषण यति एउटा कुराले हटला ? मलाई त्यस्तो लाग्दैन । लागेको क्यान्सर छ, कुखुराको अण्डा मन्छाउने ? कुखुराको अण्ड मन्छाएर क्यान्सर निको हुन्छ ? त्यसो भएर यसको राम्रै उपचार अप्रेशन, किमो गर्नुपर्ने हुन्छ । हामी चाहन्छौं–निष्पक्ष न्यायालय छ भन्ने सबैले विश्वास गरुन ।’
अध्यक्ष ओलीले आफूहरुले निष्पक्ष न्यायालय छ भन्ने विश्वास सबैले गरुन भन्ने चाहेको पनि स्पष्ट पारे । उनले महाधिवेशनमा सार्वजनिक सवारी साधन सीमित भएकाले सोही अनुसार जनसहभागिता हुने बताए ।