७ मंसिर, काठमाडौँ ।
रुकुम जानका लागि उडेको नेपाल एयरलाइन्सकाे प्लेन नेपालगन्जमै अवतरण गराइएकाे विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाइलटलाई स्पष्टीकरण सोधेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले रुकुम जानका लागि उडेको प्लेन नेपालगन्जमा अवतरण के कारणले गरेको हो भनेर स्पष्टीकरण सोधेको बताएका छन् ।
मन्त्री आलेले भने, ‘मैले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मार्फत पाइलट पेम्बा शेर्पालाई स्पष्टीकरण सोधेको छु । निगम मार्फत के कारणले बीचमा नै प्लेन अवतरण गरेको हो भन्ने कुरा आउने छ । मैले नेपाल वायुसेवा निगमलाई माथि उठाउन धेरै काम गरेको छु। तर मलाई नै असहयोग भइरहेको छ। म असहयोग भयो भनेर चुप बस्ने मान्छे हैन। मलाई नेपाल वायुसेवा निगम सुधार गर्नका लागि नै यो मन्त्रालयमा पठाएको हो ।’
नेपाल वायुसेवा निगमका पाइलटले आफ्नो ड्युटी सकिएको भन्दै उडाउँदै गरेको प्लेन गन्तव्यमा नै नपुगी अवतरण गरेका थिए । रुकुमका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर विमानका पाइलटले ड्युटी सकिएको बहानामा नेपालगन्जमा अवतरण गराएर ८ जना यात्रुलाई अलपत्र बनाएका थिए ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रुकुमको चौरजहारी विमानस्थल जाँदै थियो । यात्रुहरु चाडै रुकुम आइपुगेको सोचेर खुसी भए । तर जहाजबाट बाहिर आउँदा नेपालगन्ज आइपुगेको थाहा पाए ।
जहाजका पाइलट पेम्बा शेर्पा थिए । त्यो दिन शेर्पाको ड्युटी बिहान ५ः३० बजे सुरु भएर अपराह्न ४ बजेसम्म थियो । उनले ४ बजेपछि यात्रुलाई रुकुम पुर्याउन पर्नेमा नेपालगन्जमा नै अवतरण गराए ।