एमाले महाधिवेशनकाे उद्घाटनमा प्रचण्ड नजाने

एमाले महाधिवेशनकाे उद्घाटनमा प्रचण्ड नजाने

९ मंसिर, काठमाडाैँ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार चितवनमा उद्घाटन हुने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को महाधिवेशनको उद्घाटनमा सहभागी नहुने भएका छन्।

अन्तै पूर्वनिर्धारित कार्यक्रम भएकाले प्रचण्ड शुक्रबार चितवन जान नसक्ने भएकाे माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने, ‘भोलि प्रचण्ड कमरेड र मेरो अन्तै कार्यक्रम छ। पूर्वनिर्धारित कार्यक्रम भएकाले हामी जान पाउँदैनौं।’

 श्रेष्ठले पार्टीको प्रतिनिधि बनेर कोही नेता जानसक्ने बताए ।  प्रचण्ड भोलि काभ्रेका दुई कार्यक्रममा सहभागी हुने जनाइएकाे छ। महाधिवेशनको उद्घाटनमा सहभागी हुन केही दिनअघि एमाले नेता राजन भट्टराईले प्रचण्ड निवास खुमलटार पुगेर उनलाई निम्तो दिएका थिए।

चितवन प्रचण्डको गृहजिल्ला हो। भरतपुरमा उनकी छोरी रेनु दाहाल महानगरकी मेयर छन्। एमालेको महाधिवेशन उद्घाटनमा प्रचण्ड जान्छन् कि जाँदैनन् भन्ने आमचासो थियो।

सत्तारूढ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने उद्घाटन कार्यक्रममा सहभागी हुन शुक्रबार हेलिकप्टरमा चितवन जाँदैछन्। एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भने महाधिवेशनको निम्तो नै छैन।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.