९ मंसिर, काठमाडाैँ ।
नेकपा एमालेले १०औँ महाधिवेशनको तयारी सम्पूर्ण रुपमा सकिएको बताएको छ ।
बिहिबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी माले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारीबारे सकिएको जानकारी दिए । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन आइपुगेका छन् ।
उद्घाटन सत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी पाँच लाख जना सहभागी हुने एमालेले बताएको छ । सहभागीहरूलाई नारायणी नदी किनारको नारायणगढ र गैंडाकोट दुवैतर्फ राखिने बताए। बन्द सत्रमा भूगोल, जनसंगठन, विभाग, सम्पर्क कमिटी र प्रवास कमिटीका गरी दुई हजार १७५ प्रतिनिधि र १०३ जना पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिहरूमध्ये ६२७ जना महिला प्रतिनिधि हुनेछन् । दलित उत्पिडित क्षेत्रबाट २०९ जना प्रतिनिधि आउने छन् ।
कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आउने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
बन्दसत्रलाई पार्टी अध्यक्ष ओली र विदेशी पाहुनाले सम्बोधन गर्ने कार्यक्रम छ । महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत विभिन्न देशका राजनितिक दलका नेताहरू सहभागी हुने प्रचार विभाग प्रमुख भट्टराईले बताए ।
१२ गते मतदान ,त्यही दिन परिणाम
११ गते बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुने र बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए । १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने छ । सयवटा इलेक्ट्रोनिक भोटिङ मेसिनमध्ये १० वटा स्टक राखेर ९० वटामा भोटिङको काम हुने उनले बताए। त्यस दिन साँझसम्म मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको प्रचार विभाग प्रमुख भट्टराईले बताए ।