१० मंसिर, काठमाडौं ।
उपाधि दावेदार रुस्लान थ्री स्टार क्लब कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग स्तब्ध बनेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार सातदोबाटोसँग १–० ले पराजित भएकाे हो ।
थ्री स्टारलाई हराउन सातदोबाटोका सुदिप गुरुङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलको २९औं मिनेटमा सुदिप गुरुङले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए । अजायी मार्टिन्सले उपलब्ध गराएको पासमा अनमार्क रहेका सुदिपले डिबक्सको ठिक बाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत हुदा थ्री स्टारका गोलरक्षक प्रिसोले रोक्ने कुनै मौका नै पाएन ।
दुवै टोलीबाट गोलका केही अवसरहरु सिर्जना भएपनि दुवै टोलीले गोल गर्न सकेनन् । सातदोबाटोले शीर्ष डिभिजनमा दोस्रो खेलमा पहिलो जित निकालेको हो ।
जितसँगै अपराजित सातदोबाटोले दुई खेलबाट ४ अंक जोडेको छ । पहिलो हार बेहोरको थ्री स्टारको ३ अंक छ । सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । थ्री स्टारले च्यासललाई ३–० ले पराजित गरेको थियो ।
दिनको दोस्रो खेलमा फ्रेन्ड्स क्लब र संकटा क्लबबीच दिउँसो ४ः४५ बजेपछि प्रतिस्पर्धा हुनेछ । दुवै टोली पहिलो जितको खोजीम हुनेछ ।