पदका आकांक्षीलाई ओलीले भने- ‘फेरि पनि पालो आउँछ, हतारो नगरौं’

पदका आकांक्षीलाई ओलीले भने- ‘फेरि पनि पालो आउँछ, हतारो नगरौं’

११ मंसिर, काठमाडौं।

एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनका प्रतिनिधि र नेताहरूलाई प्रतिस्पर्धामा जान हतारो नगर्न आग्रह गरेका छन् । शनिबार बन्दसत्रलाई सम्बोधन गर्दै उनले  फेरि पनि पालो आउँछ भन्दै  आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु। कसै न कसैले कुनै न कुनै ठाउँमा जिम्मेवारीहरु सम्हाल्नुपर्छ। तर आफ्नो महत्त्वाकांक्षाको कारणले अस्वस्थ होडबाजी, अस्वस्थ प्रतिस्पर्धा र प्रतिस्पर्धाले संस्थालाई नोक्सान पार्ने खालका गतिविधिहरु नगरौं । कसै न कसैले त कुनै न कुनै जिम्मेवारी सम्हाल्नै पर्छ। तर पार्टीकै प्रभाव र प्रतिष्ठामा, पार्टीको एकतामा, पार्टीको एकता खँदिलो हुने कुरामा प्रतिकूल असर पार्ने खालका कामहरु हामी नगरौं भन्ने कुरा भन्न चाहन्छु।’

उनले सानो भए पनि यस देशमा पालिकाहरु, प्रदेशहरु, प्रतिनिधि सभा, राष्ट्रिय सभा, अरु विभिन्न निकायहरु छन्, अरु विभिन्न ठाउँहरु छन् भन्दै त्यहाँ पनि अवसर आउने बताए।

‘अहिले नभए फेरि अर्को समय आउँला। त्यसकारण हामीले हतारो गर्ने कुरा, हतारोका साथ प्रतिस्पर्धा अर्थात् लोकतान्त्रिक अभ्यासलाई प्रतिस्पर्धा मात्रै बुझ्ने र प्रतिस्पर्धालाई अस्वस्थ बनाउने खालका कामहरु नगरौं भन्ने कुरा आग्रह गर्न चाहन्छु’, उनले भने।

झन्डै सवा २ घण्टाको सम्बोधनका क्रममा निर्वाचन र प्रतिस्पर्धाका लागि उत्साहित नहुन नेताहरूलाई निर्देशनात्मक रूपमा उनले आग्रह गरेका हुन् ।

ओलीलाई अध्यक्षमा भीम रावलले चुनौती दिने भएका छन्। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा उनी निकटका नेताहरु सुवास नेम्वाङ र ईश्वर पोखरेल आकांक्षी छन्। महासचिवमा विष्णु पौडेल र शंकर पोखरेल आकांक्षी छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.