१३ मंसिर, चितवन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशनबाट फेरि अध्यक्ष हुन उम्मेदवारी दर्ता गरेका छन्।
आइतबार राति आफूलाई अध्यक्ष राखेर ओलीले प्रस्ताव गरेको पदाधिकारी र केन्द्रीय सदस्यमा उपाध्यक्ष भीम रावलले असहमति राखेपछि ओलीले फेरि अध्यक्ष बन्न चुनाव लड्नु पर्ने भएको हो।
ओलीलाई विष्णु पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् । नवौं महाधिवेशनबाट अध्यक्षमा ओली र रावल उपाध्यक्षमा निर्वाचित भएका थिए । यसपटक सर्वसम्मत अध्यक्ष बन्ने ओलीको तयारी थियो ।
तर रावलले अध्यक्षमा दाबी नछाडेपछि निर्वाचनमै जानु परेको हो । ओलीले आइतबार राति बन्दसत्रमा १९ सदस्यीय पदाधिकारी प्रस्ताव गरेका थिए । पहिल्यै अध्यक्षमा दाबी प्रस्तुत गरेका रावलको नाम त्यो सूचीमा थिएन ।
प्रस्तावित पदाधिकारीको सूचीमा नपरेका घनश्याम भूषालले उपाध्यक्षमा र भीम आचार्यले सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । ओलीको प्रस्तावित सूचीमा असन्तुष्ट भएकाहरुले उम्मेदवारी दर्ता गराएपछि निर्वाचनमै जानुपर्ने भएको छ ।