१३ मंसिर, काठमाडौँ ।
नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन् ।
पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको सोमबार बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १९५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले १०८९ मत प्राप्त गरेका छन् ।
काठमाडौंमा यहाँका स्थायीबासी पूर्वमहामन्त्री प्रकाशमान सिंह र युवा नेता गगन थापाको गठबन्धन बनेको थियो भने त्यसविरुद्व सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहबीच गठबन्धन बनेको छ ।
यसअघि १३ औँ महाधिवेशनमा देउवा–सिंह गठबन्धनबाट सबुजकृष्ण बानियाँ जिल्ला सभापति बनेका थिए । त्यसबेला थापा पनि सिटौला समूहमै थिए । यस्तै, उपसभापतिमा राजकुमार नकर्मी (१८२९) र गोकर्ण केसी (१९२२), सचिवमा इन्द्रबहादुर थापा (१९१५) र गोविन्द पुडासैनी (१८१७) र सहसचिवमा रोमेल श्रेष्ठ (१७७५) र प्रा डा अमिता प्रधान (२०६६) मत ल्याई निर्वाचित भएका छन् ।
पदाधिकारीमा पनि बानियाँ प्यानल नै विजयी भएको हो । देउवा–सिटौला समूहले सभापतिमा उपेन्द्र कार्की, उपसभापतिमा धर्मराज अर्याल र रामलाल श्रेष्ठ, सचिवमा सागर रञ्जित र कुमारराज सुवेदी तथा सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानलाई उम्मेदवार बनाएको छ ।
सभापतिमा निर्वाचित बानियाँ यसअघि पनि काठमाडौं कांग्रेस सभापति थिए । कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।