१४ मंसिर, कर्णाली।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।
मंगलबार प्रदेशसभा बैठकमा उनले उक्त प्रस्ताव पेस गरेका हुन् । सो प्रस्तावको सम्बन्धमा मत विभाजन भने भोलि बस्ने बैठकमा गराइने भएको छ । प्रदेशसभाको प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरू अनुपस्थित रहेका कारण विश्वासको मतसम्बन्धी थप प्रक्रिया अघि नबढाई बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो ।
एमालेको १० औँ महाधिवेशन जारी रहेको र प्रदेशसभा सदस्यहरू महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका कारण पनि मंगलबारको बैठक औपचारिकतामा सीमित भएको थियो ।
बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरे पनि प्रमुख प्रतिपक्ष अनुपस्थित भएका कारण भोलिसम्मका लागि स्थगित गरिएको जनाइएको छ । नेकपा एमालेले भोलिको बैठकमा सहभागी हुने जनाएको सत्तारुढ गठबन्धनका नेताहरूको भनाइ छ ।