१४ मंसिर, सौराहा ।
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् ।
अध्यक्षका प्रत्यासी भीम रावललाई पराजित गर्दै ओली दोस्रोपटक एमालेको अध्यक्षमा निर्वाचित भएका हुन् । नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई पराजित गरेर अध्यक्षमा चुनिएका ओलीले १०औँ महाधिवेशनमा रावललाई पराजित गरे ।
कूल खसेको दुई हजार ९६ मतमध्ये ओलीले १८०८ मत पाए भने उनका प्रतिद्वन्द्वी रावलले २१३ मत पाए । ओलीले १०औँ महाधिवेशनमा सर्वसम्मतिबाट अध्यक्ष बन्ने कसरत गरेका थिए ।
उनले आफूलाई अध्यक्ष तोक्दै १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेर बन्दसत्रबाट अनुमोदन गराएका थिए ।
तर, रावलले अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने अडान लिएपछि सर्वसम्मत अध्यक्ष चुनिने ओलीको चाहना पूरा हुन सकेन ।