१५ मंसिर, विराटनगर ।
संघीय संरचना अनुशार नेपाली कांग्रेस पहिलो पटक १४ औंै महाधिवेशन मार्फत प्रादेशिक संरचनामा जादैछ ।
यसका लागि प्रदेश अधिवेशनमा अन्तिम तयारीमा कांग्रेस पुगिसकेको छ । विभिन्न प्रदेशमा उम्मेदवारी घोषणा भईरहेको छ । कांग्रेसको परिवर्तित तालिकाअनुसार प्रदेशमा यही मंसिर १५ गते हुने भनिएको मनोनयन दर्ता १७ गतेका लागि सारिएको छ ।
प्रदेश महाधिवेशनमा जुटेको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा उम्मेद्वारी घोषणा गर्ने क्रम सुरु भएको छ । प्रदेश सभापतिमा उम्मेद्वारी घोषणा गर्ने एकजना संस्थापन समूह (देउवा) र तीन जना वरिष्ठ नेता पौडेल समूहका हुन् ।
हालसम्म कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशीले उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गरी नसके पनि कास्कीकै पौडेल पक्षका यज्ञबहादुर थापा प्रदेश सभापतिका आकांक्षी रहेको बताइएको छ ।
आकांक्षीमध्ये उम्मेद्वारी घोषणा गरेका शर्मा हालसम्मका बलिया उम्मेद्वार मानिन्छन् । उनी कास्की कांग्रेसमा १७ वर्षसम्म सभापति बनिसकेका छन् । २०२६ सालमा कांग्रेस राजनीतिमा प्रवेश गरेका उनी हाल ७५ वर्षको पुगेका छन् ।
यसअघि उनी रामचन्द्र पौडेल पक्षको रुपमा चिनिएका थिए । । यद्यपी उनी सबै नेताको आफूलाई आशिर्वाद रहेको दाबी गर्छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिएका शर्माले आफूले कांग्रेसको नेतृत्व गर्न पाएमा पार्टी बलियो बनाउने बताएका छन् ।
त्यस्तै कास्कीबाट नै उम्मेद्वारी घोषणा गरेका देवराज चालिसे पनि पौडेल समूहको नै छन् । उनले विद्यार्थी कालदेखि राजनीति सुरु गरेका थिए भने उनी बौद्धिक नेताका रुपमा परिचित छन् । तर उनी सांगठनिक रुपमा अहिलेसम्म पार्टीको जिम्मेवारी नलिएका नेतामा पर्दछन् ।
उनी गत प्रतिनिधिसभाको चुनावमा कास्की २ बाट उम्मेद्वार बनेपनि पराजित भएका थिए । सभापतिको उम्मेदवार घोषणा गर्दै पार्टीलाई स्वतन्त्ररुपमा अघि बढाउन र गण्डकी प्रदेशमा कांग्रेसलाई बलियो बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।
त्यस्तै तनहुँबाट उम्मेद्वारी घोषणा गरेका नेता रघुनाथ पौडेल पनि रामचन्द्र पौडेल पक्षधर छन् । तनहुँका पूराना नेता पौडेलले पनि तनहुँ सभापतिमा ३ कार्यकाल नेतृत्व गरिसकेका छन् ।
उनले आफूलाई वरिष्ठ नेता पौडेलसहित सशांक कोइराला लगायतको आशिर्वाद रहेको बताएका छन् । नेता पौडेलले कांग्रेस नेतृत्व वर्गले उचित भूमिका ननिभाएका कारण पार्टी खुम्चिँदै गएको बताए ।
प्रदेश सभापतिमा पर्वतका अर्जुनकुमार जोशीले पनि गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन् । उनीसँग कांग्रेसका केन्द्रीय सदस्यसँगै पर्वतको तीन पटक पार्टी सभापति भएर काम गरेको अनुभव छ । उनले देउवा पक्षबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
गण्डकी प्रदेश संगठन बलियो बनाउन, कांग्रेसको पहिचन राख्न सक्ने उम्मेदवार बन्न साथीहरुले आग्रह गरेकाले अगाडी बढेको उनको भनाइ छ । कांग्रेसका नेताहरुको उम्मेदवार छनोट र निर्वाचन आफ्नो पक्षमा पार्ने भन्दा बलियो कांग्रेस बनाउन पूर्व सभामुख तारानाथ रानाभाटले नेतृत्वलाई सुझाव दिएका छन् ।
उनले कांग्रेस बलियो भए मात्रै देश बलियो हुने भन्दै जनताको सुरक्षाका लागि कांग्रेसलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् ।
कांग्रेस गण्डकी प्रदेश समितिका लागि ११ जिल्लाका महाधिवेसन र प्रदेश प्रतिनिधी गरी करिव २ हजार जनाले मतदान गर्ने छन् ।